जनकपुरधाम - नेपाल भ्रमण वर्ष २०२० सुरु भएको दोस्रो दिन भारत सरकारका संस्कृति एवं पर्यटन राज्यमन्त्री प्रह्लाद पटेल जनकपुर पुगेका छन्। बिहीबार जनकपुर पुगेका मन्त्री पटेलले जानकी मन्दिरमा पूजाअर्चनासमेत गरेका छन्।
नेपाल भ्रमण वर्ष २०२० का लागि भारतको प्रतिनिधित्व गर्दै जनकपुर पुगेका मन्त्री पटेलले जानकी मन्दिरमा पूजाअर्चनापश्चात मुख्यमन्त्री लालबाबु राउतसहित प्रदेश सरकारका अन्य मन्त्रीहरुसँग भेटघाट गरेका छन्। राज्यमन्त्री पटेललाई जानकी मन्दिरमा प्रदेश सरकारक उद्योग, वन तथा पर्यटनमन्त्री रामनरेश रायले स्वागत गरेका थिए।
मुख्यमन्त्री लालबाबु राउतसँगको भेटमा भारतीय राज्यमन्त्री पटेलले भारतले नेपालको विकास हेर्न चाहेको भन्दै यहाँको पर्यटन क्षेत्रमा विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाल र भारतबीच वर्षौंदेखि रहेको धार्मिक र सांस्कृति सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुँदै जाने उनले विश्वास व्यक्त गरे।
मुख्यमन्त्री राउतले नेपाल र भारतबीच पौराणिक सम्बन्ध रहेको बताए। ‘रोटी–बेटी’ को सम्बन्धले दुई देशबीचको आत्मियतालाई थप प्रगाढ बनाउन सहयोग पुर्याएको उनको भनाइ छ। मुख्यमन्त्री राउतले पर्यटन राज्यमन्त्री पटेलको जनकपुर आगमनपछि प्रदेश २ को पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणपछि पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएको दाबी गरे।