काठमाडौं – बाजुराको हिमाली गाउँपालिका–७ धुलीचौरस्थित कर्णाली नदीमा भएको जिप दुर्घटनामा ज्यान गुमाएका चारै जनाको सनाखत भएको छ।
प्रहरीकाअनुसार ज्यान गुमाउनेमा जिप मालिकसमेत रहेका चालक बाजुराको जगन्नाथ गाउँपालिका–५ का २७ बर्षीय रमेश वहादुर शाही, हिमाली गाउँपालिका–६ का ३६ वर्षीय पवन भण्डारी, कैलाली मोहन्याल गाउँपालिका–५ का ३३ वर्षीय दिनेश कुमार घर्तीमगर र मुगु कार्मारुङ गाउँपालिका बस्ने पेमा लामा रहेका छन्। भण्डारी र घर्तीमगर शिक्षक पेसामा आबद्ध रहेका थिए।
यस्तै दुर्घटनामा परी बाजुरा स्वार्मीकार्तीक खापर गाउँपालिका–४ वाई बस्ने १३ वर्षीय सुशिला विक बेपत्ता छिन्। उनको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले बताए।
दुर्घटनामा मुगुका २० वर्षीय गोम्चो लामा, सोही ठाउँका २१ वर्षीय टोर्चे लामा, बाजुरा बुढीनन्दा–६ की २२ वर्षीय सरु विक र उनकी २ वर्षकी छोरी घाइते भएका छन्। उनीहरुमध्ये टोर्चे र सरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि नेपालगंज लग्ने तयारी भैरहेको प्रहरीले जनाएको छ। हिमाली गाउँपालिकाबाट कोल्टीतर्फ जाँदै गरेको से१ज १०६४ नम्बरको जिप कर्णाली नदीमा खसेको थियो। जिप चालकले नभएर गाडी मालिकका भाइले चलाएको र उनी सिकारु रहेको स्थानीयले बताएका छन्।