गुल्मी– बारीमा कुहिएर नष्ट हुने फर्सी, अम्बा कुभिण्डो, गोलभेंडा र काँक्रा घरदैलोमै बिक्री हुन थालेपछि यहाँका किसान पैंचो पसलतिर आकर्षित भएका छन्।
गाउँमा उत्पादन भएका र बजार पाउन नसकेका तरकारी र फलफूललाई गाउँमा खुलेको पैंचो पसलले किन्न थालेपछि यहाँका थुप्रै किसानको आर्थिक अवस्थामा समेत ठूलो परिवर्तन आएको छ।
पैंचो पसलका कारण नै यहाँका कतिपय किसान घरमै कृषि व्यवसाय गरी लाखौं रूपैयाँ कमाउन सफल बनेका छन्। “सुरुमा पैंचोको विरोध गरें, यसले के गर्न सक्ला र भन्ने लागेको थियो । तर, म पनि विस्तारै पैंचोसँग जोडिन पुगें। यस वर्ष दस लाख ९५ हजारको कारोवार पैंचोसँग गरेको रहेछु, मोटरसाइकल चढ्न र छोराछोरी पढाउन कुनै समस्या छैन, यसपटक पनि उत्कृष्ट किसानको रूपमा सम्मानित बन्न सफल बने,” छत्रकोट–४ रुक्सेका अगुवा कृषक रामकृष्ण कँडेलले भने।
गाउँमै उत्पादन भएको कृषिजन्य सामग्रीलाई संकलन गरेर एकमुष्ट जिल्लाभित्र र जिल्ला बाहिरको बजारमा बिक्री गर्ने उद्देश्यले पाँच वर्षअघि गुल्मीको रुरुक्षेत्र गाउँपालिकाअन्तर्गत बलेटक्सारमा पैंचो पसल सञ्चालन गरिएको हो।
पैंचोले गाउँमा उत्पादन भएको सामग्री पैंचोस्वरुप खरिद गरिदिनुका साथै घरखर्चमा आवश्यक पर्ने अरु बजारका सामग्री किसानलाई बिक्री गर्ने गर्छ। पैंचोबाट सामान नलगेमा उसले सोझै किसानलाई पैसा उपलब्ध गराउने भएका कारण अहिले धेरैभन्दा धेरै कृषकलाई पैंचो पसलको प्रेरणाका कारण व्यवसायिकतातर्फ थप आकर्षित बनाएको छ।
भिन्नभिन्न पेशामा आबद्ध ४५ युवाले सुरु गरेको उक्त पैंचोले जिल्लाभित्र र बाहिर गरेर ९ वटा शाखा सञ्चालन गरेको छ भने उक्त शाखाअन्तर्गत तीन सय कर्मचारी र १२ हजार किसान आबद्ध छन्।
सुरुमा दुई करोड लगानीबाट सुरु भएको पैँचो पसलमा अहिले ३० करोड रूपैयाँ लगानी भइसकेको छ। यसले सिन्की, मस्यौरा, कोदोको पीठो, जाम, सस, अचारलगायतका २७ वटा ब्राण्ड उत्पादन गरी स्वदेश तथा विदेशसम्म निर्यात गर्दै आइरहेको छ।
“एउटा किसानले कारमा हिँडेर १०/१२ जना कर्मचारी राख्ने अवस्था नपु¥याउँदासम्म म थाक्ने छैन, गरे नहुने भन्ने केही छैन, हिजो किसानलाई हेर्ने नजर विस्तारै बदलिँदै छ, पैंचोले यहाँका किसानलाई माथि उठाउनका लागि निरन्तर सक्दो प्रयास गरिरहेको छ,” पैंचो पसल प्रालिका प्रबन्ध निर्देशक ध्रुव न्यौपानले भने।
पैंचोले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर गाउँपालिकाकाका उत्कृष्ट किसान, उत्कृष्ट शाखा कर्मचारी, उत्कृष्ट संकलन केन्द्र, कृषिउपज संकलक, वितरण विभाग, लेखा, बजार, शाखा प्रबन्धक, सर्वोकृष्ट किसान र कर्मचारीलाई सम्मान गरी उनीहरूलाई थप हौसला प्रदान गर्दै आइरहेको छ ।
पैंचो पसलले गाउँको उत्पादनलाई बजारसम्म पु¥याएर गाउँ र सहरलाई जोड्ने पुलको काम गरेको भन्दै प्रदेश नं ५ का कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री आरती पौडेलले पैंचोले गरेको कामप्रति सराहना गरे। “राज्यले गर्ने काममा प्रालिले सहयोग गरिरहेको छ, प्रदेश सरकारले कृषि क्षेत्रको विकास र यसको समृद्धिका लागि निजी संस्थासँग पनि हातेमालो गर्दै अघि बढ्दै छ,” मन्त्री पौडेलले भने।
उचित मूल्य र बजारको अभावमा गाउँमा उत्पादन भएका वस्तु त्यतिकै खेर जाने परिस्थितिले त्रसित बनेका किसानलाई पैंचोले गाउँमै पुगेर उनीहरूको खेतबारीबाटै कृषिजन्य उत्पादन किनिदिन थालेपछि यहाँका किसान आजभोलि व्यावसायिकतातर्फ उन्मुख बन्दै जान थालेका हुन्।
रासस