काठमाडौं– नेपाली कांग्रेसको असन्तुष्ट समूहले बिहीबारको केन्द्रीय समिति बैठक बहिस्कार गर्ने भएका छन्।
पार्टी सभापति शेरबहादुर देउवा पक्षले सहमतिका लागि सकारात्मक प्रयास नगरेकाले बिहीबारको केन्द्रीय समिति बैठक बहिस्कार गर्ने नेता प्रकाशमान सिंहले जनाएका छन्।
मंसिर २६ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णबहादुर सिटौला समूहले बहिस्कार गर्दै आएका छन्।
“हामीले माग राखेका बेला सभापतिले महाधिवेशनको समय र विभागको विषयमा निर्णय गर्नुभयो। त्यसले हामीलाई झनै चिन्तित बनायो,” नेता सिंहले नेपाल समयसँग भने, “अब सभापतिले यसमा पहल गर्नुपर्छ। होइन भने अन्य कसले के प्रस्ताव ल्याउँछ कसले के भन्छ त्यसमा हामी लाग्दैनौं।”
आफूहरूको माग सम्बोधन नभएसम्म केन्द्रीय समिति बैठकमा सहभागी नहुने अडान कायम रहने सिंहले बताए।
यसैबीच, पौडेल र सिटौला समूहले जिल्ला सभापतिहरुको भेला बोलाएका छन्।
नेता सिंहका अनुसार पुस २१ गतेका लागि जिल्ला सभापतिहरुको भेला बोलाइएको छ। भेलामा असन्तुष्ट पक्षले आफ्नो कुरा राख्ने छन्।
जिल्ला सभापतिमा पौडेल र सिटौला पक्षको बलियो पकड रहेको छ। तर, केन्द्रीय समितिमा कमजोर छन्।