मंगलबार, भदौ २, २०८३

उपभोक्ताले प्रदेशसभा घेराउ गरेपछि (भिडियोसहित)

बक्यौता भुक्तानीको माग गर्दै उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरुले प्रदेश २ को प्रदेशसभा घेराउ गरेका छन्।
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

जनकपुरधाम - बक्यौता भुक्तानीको माग गर्दै उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरुले प्रदेश २ को प्रदेशसभा घेराउ गरेका छन्। गत आर्थिक वर्षमा सम्पन्न योजनाहरुको भुक्तानी हालसम्म प्रदेश सरकारले नगरेको भन्दै बक्यौता रकम माग्दै उनीहरुले मंगलबार प्रदेशसभा घेराउ गरेका हुन्।

गत आर्थिक वर्षमा विभिन्न मन्त्रालयहरुबाट बाँडिएको करिब ८७ करोड रुपैयाँको योजनाहरुको भुक्तानी हालसम्म हुन सकेको छैन। सभामुखको नेतृत्वमा गठित विशेष छानबिन समितिले समेत भुक्तानी गर्न प्रतिवेदन बुझाइसकेपनि सरकारले अटेर गरेको उपभोक्ता समितिका पदाधिकारीहरुले बताएका छन्।

प्रदेशसभा घेराउ गर्न पुगेका उपभोक्ता समितिका सदस्यहरुले प्रदेश सरकारको विरोधमा चर्को नाराबाजी गरेका छन्। काम गरेको पैसासमेत नदिने सरकारका मुख्यमन्त्री र अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने उपभोक्ता समितिकी अध्यक्ष पुनम झाले बताइन्। कमिसनको खेलमा आफूहरुले हालसम्म भुक्तानी पाउन नसकेको उनको आरोप छ।

गत वर्षको बक्यौता रकम भुक्तानी नभएसम्म नयाँ योजना नल्याउन उनीहरुले प्रदेश सरकारलाई चेतावनी दिएका छन्। उपभोक्ता समितिका पदाधिकारीहरुमा अधिकांश सत्तासाझेदार समाजवादी र राजपाका कार्यकर्ताहरु छन्।

मन्त्री र सांसदबीच भनाभन

प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव र प्रदेशसभा सदस्य प्रमिला देवी दासबीच भनाभन भएको छ। प्रदेशसभा भवन बाहिर उपभोक्ता समितिका पदाधिकारीहरुले विरोध प्रदर्शन गरिरहँदा कुरा मिलाउन आएका राज्यमन्त्री यादव र सांसद दासबीच भनाभन भएको थियो।

राज्यमन्त्री यादवले विवादको क्रममा सांसद दासले आफूलाई झापड हानेको आरोप लगाएका छन्। तर सांसद दासले भने सामान्य भनाभन भएपनि आफूले राज्यमन्त्री यादवलाई हातपात गरेको कुरा झुटो रहेको दाबी गरिन्। सदन स्थगित भइसकेपछि प्रदेशसभा पुगेका राज्यमन्त्री यादव उपभोक्ता समितिका पदाधिकारीहरुको चेपुवामा परेका थिए। यादव समाजवादी पार्टीबाट मन्त्री बनेका हुन् भने दास नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य हुन्।

सदन फेरी स्थगित

डेढ महिनापछि बसेको प्रदेशसभा बैठक दोस्रो दिनपनि स्थगित भएको छ। उपभोक्ताहरुको बक्यौता भुक्तानीलगायतको विषयमा सदनमा उपस्थित भएर मुख्यमन्त्री लालबाबु राउतले सन्तोषजनक जबाफ नदिएसम्म सदन चल्न नदिने प्रतिपक्षी दलले अडान कायमै राखेपछि दोस्रो दिनपनि प्रदेशसभा बैठक स्थगित भएको हो।

मुख्यमन्त्री राउतले मंगलबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जबाफ दिने भनिएको थियो। तर, राउत स्वयं उपस्थित नभएर सरकारको तर्फबाट जबाफ दिन आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई पठाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा र नेपाली कांग्रेसले सदन अवरुद्ध गरेपछि बैठक स्थगित भएको छ। सदन अवरुद्ध गर्न विपक्षी दललाई राजपाका सांसद उपेन्द्र महतो र विक्की यादवले पनि सहयोग गरेका थिए।

लगातार दुई दिन बैठक स्थगित भएपछि सभामुख सरोज यादवले उपभोक्ताहरुको बक्यौता भुक्तानीबारे जबाफ दिन सरकारलाई रुलिङ गरेका छन्। प्रदेशसभाको अर्को बैठक आगामी १७ गते दिनको १ बजे बोलाइएको छ।

नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले सदनमा उपस्थित भएर जबाफ दिन मुख्यमन्त्री राउतले अटेर गरिरहेको आरोप लगाए। ‘मुख्यमन्त्रीज्यू जनकपुरमै हुनुहुन्छ, तर सदनमा आउन चाहनु भएको छैन्’ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने,‘सदनमा जबाफ दिन नचाहनुले पनि सरकारको नियतमा खोट रहेको पुष्टि हुन्छ।’

यता सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बक्यौता रकम भुक्तानी गर्न गृहकार्य सुरु भइसकेको र सात दिनभित्र भुक्तानी प्रक्रिया सुरु हुने दाबी गरे।

बक्यौता रकम भुक्तानी गर्न सरकार तयार रहेपनि कर्मचारीहरुको बदमाशीले भुक्तानी हुन नसकेको यादवको भनाइ छ। कर्मचारीहरु अझै संघीय सरकार मातहत रहेकोले प्रदेश सरकारलाई टेर्न नमानेपछि भुक्तानी हुन नसकेको यादवको जिकिर छ।

भुक्तानीको बहाना बनाएर पटकपटक सदन अवरुद्ध गरेर प्रतिपक्षी दलले लोकतान्त्रिक मूल्य मान्यताविपरित व्यवहार प्रदर्शन गरेको मन्त्री यादवले बताए।

प्रकाशित: Dec 31, 2019| 11:07 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।