काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सम्पर्कबाहिर रहेका चिनी उद्योगी सम्पर्कमा आएको बताएका छन्।
मंगलबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले यसअघि सम्पर्कबाहिर रहेका चिनी उद्योगी वीरेन्द्र कनोडिया र राजेश अग्रवाल मन्त्रालयको सम्पर्कमा आएको जानकारी दिए।
चिनी उद्योगीहरुले किसानको उखु खरिदको बक्यौता रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएको पनि भट्टले बैठकमा जानकारी गराएका थिए। उद्योगी कनोडियाले आफू किसानको बक्यौता तिर्न तयार रहेको तर केही समय मागेको मन्त्री भट्टले बताएका थिए ।
मन्त्रालयले उद्योगीहरुसँग लिखित प्रतिबद्धता माग्ने पनि समितिलाई मन्त्री भट्टले जानकारी गराएका थिए ।
समिति सभापति विमल श्रीवास्तवले एक–दुई दिनभित्रै उखु किसानले पैसा पाउने आश्वासन मन्त्रीले दिएको जानकारी दिए।
सम्पर्कबाहिर रहेका अर्का उद्योगी राजेश अग्रवाल पनि गृह मन्त्रालयमार्फत् सम्पर्कमा आएको मन्त्री भट्टले बताए । गृह मन्त्रालयले मंगलबार नै उद्योगी अग्रवाललाई खोजी गर्न प्रहरीलाई पत्राचार गरेको थियो।