भैरहवा– संघीय सरकारले भोलि (बुधबार) नेपाल भ्रमण वर्ष २०२० उद्घाटन गर्दैछ । एक वर्षमा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य छ । सोही अनुसार देशैभर विभिन्न कार्यक्रम हुँदैछन् । काठमाडौंमा राष्ट्रपतिले उद्घाटन गर्ने भ्रमण वर्षको औपचारिक उद्घाटन मुलुकका ७ वटै प्रदेशमा मुख्यमन्त्रीले गर्दैछन् ।
प्रदेश ५ मा बर्दियाको ठाकुरद्वारामा आयोजना हुने कार्यक्रमको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्दैछन् ।
यसैबीच लुम्बिनीमा फुड फेस्टिबल हुने आयोजकले बताएका छन् । लुम्बिनी होटल व्यवसायी संघको आयोजनामा लुम्बिनीस्थित महिलवार बजारमा हुने फुड फेस्टिबलमा ब्राह्मण, यादव, मुश्लिम, थारु समुदायको खानाको स्टलहरु राखिने तयारी भएको आयोजक संस्थाका अध्यक्ष मिथुन कुमार श्रेष्ठले बताए । नेपालमै पहिलो पटक विभिन्न समुदायगत खाना एकै ठाउँमा राखेर बिक्री गरिने उक्त कार्यक्रममा स्वदेशी भन्दा विदेशी पर्यटक बढी आउने विश्वास आयोजकले लिएका छन् ।
यसैगरी भैरहवामा जिटिभीको चर्चित सांगीतिक कार्यक्रममा सहभागी भएका कलाकारद्वय प्रितम आचार्य र आयुष केसीको प्रस्तुतिमा मंगलबार सडक खाना महोत्सव आयोजना गरिएको छ ।
यता सोमबारदेखि बुटवलमा पनि सडक खाना महोत्सव सुरु भएको छ । उक्त सडक खाना महोत्सवको प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका थिए । होटल तथा रेष्टुरेन्ट संघ रुपन्देहीको आयोजनमा शुरु भएको महोत्सव तीन दिनसम्म चल्ने संघका अध्यक्ष समुन्द्र जिसीले बताए ।