काठमाडौं- सत्तारुढ नेकपामा सभामुख चयनको विषय पेचिलो बनिराखेका बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष केपी ओलीबीच छलफल भएकाे छ ।
सभामुख चयन गर्न भोलि (बुधबार)बाट प्रतिनिधिसभाको बैठक सुरु हुन लागेकाले यसबारे छलफल दुई अध्यक्षबीच छलफल भएको हाे ।
बिहान भएको भेटमा प्रचण्डले सभामुख छान्न ढिला भएको र यस विषमया चाडो निर्णय गर्नु पर्नेमा जोड दिएको स्रोतको दाबी छ ।
दुई अध्यक्षले अपसी सहमति गरेर सचिवालयमा नाम पेश गर्ने तयारी गरेका छन् । यसअघि आइतबार बसेको सचिवालय बैठकले दुई अध्यक्षलाई सहमति गरेर नाम दिन सुझाव दिएको थियो ।
आइतबारको बैठकमा सभामुखको एजेण्डामा छलफल नगरी प्रचण्ड चितवन गएपछि यसबारे निर्णय हुन सकेको थिएन् । उनी चितवनबाट फर्किएपछि आज यसै विषयमा सहमति खोज्न बालुवाटार पुगेका हुन् ।
प्रचण्ड सभामुख पार्टी एकताअघि नै तत्कालिन माओवादीको भागमा परेकाले अब पनि पूर्व माओवादीले नै पाउनु पर्ने अडानमा छन् । उनी देव गुरुङ वा अग्नी सापकोटालाई सभामुख बनाउनु पर्ने पक्षमा छन् ।
तर, प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओली सभामुख छान्दा अब पहिला कुन पार्टीको भागमा थियो भन्ने नहेरी क्षमताका आधारमा दिनु पर्ने बताउँदै आएका छन् । उनी सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउनु पर्ने पक्षमा छन् ।
यता राष्ट्रपति विद्यादेवी भण्डारी पनि सभामुखको विषमया चासो देखाउँदै आएकी छिन् । उनी हाल रहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउनु पर्ने पक्षमा छिन् ।
त्रिपक्षीय विवादका कारण सभामुख चयन प्रक्रिया अन्योलमा पर्दै आएको छ । पुस ११ को प्रतिनिधि सभाको बैठक यहि अन्योलताका कारण सुचना टाँसेर स्थगित गरिएको थियो ।