धनगढी– सुदूरपश्चिममा आज ‘पुस १५’ पर्व धुमधामसँग मनाइँदैछ।
पर्वमा मिठा परिकार खाने, राति जाग्राम बस्ने, बात (दन्त्य कथा) भन्ने र देउडा खेल्ने चलन रहेको यस क्षेत्रको संस्कृतिसम्बन्धी जानकार बताउँछन्।
यस दिन १५ किसिमका परिकार खाने प्रचलन छ।
यस पर्वलाई ‘पन्नरी रात’, ‘ठूलीरात’ पनि भन्ने गरिएको छ। नेपाली समाजमा आजको रात सबैभन्दा लामो हुने मान्यता भएकाले यस पर्वलाई ‘ठूलीरात’ भन्ने संस्कृतिसम्बन्धी जानकार बताउँछन्। तर, विश्वभर डिसेम्बर २२ को रात सबैभन्दा लामो हुने गरिएको मानिन्छ।
पर्वका अवसरमा वनभोज खाने पनि प्रचलन छ। यस क्षेत्रमा वर्षमा एक दिन भए पनि घरबाहिर पकाएर खानुपर्ने मान्यता भएकाले आजको दिन वनभोज खाने प्रचलन रहेको संस्कृतिसम्बन्धी जानकार बताउँछन्।
सांस्कृतिक कार्यक्रम
पर्वका अवसरमा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, नेपाल’ले आज सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
‘पुस १५’ पर्वलाई जोगाउन कार्यक्रम आयोजना गरिएको अध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’ले बताए। पछिल्लो समय ‘पुस १५’ पर्व मनाउने परम्परा हराउँदै गएको उनकाे भनाइ छ।