काठमाडौं- नेपाल भ्रमण वर्षमा आउने पर्यटकको सुरक्षालाई थप मजबुद बनाइने भएको छ।
पर्यटन विभाग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले सोमबार काठमाडौंमा आयोजना गरेको ठमेल क्षेत्रमा रहेका होटल, घरवास तथा होस्टल सञ्चालकबीच ‘पर्यटन सुरक्षा तथा दायित्व’ विषयक अन्तक्र्रियामा नेपाल घुम्न आउने पर्यटकको सुरक्षाको जिम्मेवारी सबै नागरिकको भएको बताइएको हो।
कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले नेपाल भ्रमण वर्षमा आउने पर्यटकको सुरक्षालाई थप मजबुद बनाउन नेपाल प्रहरी गम्भीर रहेको बताए।
उनले नेपाल भ्रमण वर्षलाई लक्षित गरी नेपाल प्रहरीले ‘रात्रिकालीन गस्ती’लाई बढावा दिएको बताए। काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले सुरक्षित र व्यवस्थित ठमेल निर्माण गरेमात्र पर्यटकको आगमन बढ्ने बताए। ठमेलमा लगानीको सुरक्षाको वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाले नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेलमा आउने भएकाले पर्यटकको सुरक्षाको जिम्मेवारी होटल, घरवास र होस्टेल सञ्चालकको पनि भएको बताए।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डङ्गोलले ठमेलको शान्ति सुरक्षाको उचित व्यवस्थापन, ट्राफिक र पार्किङको दिर्घकालीन व्यवस्था, फोहरमैला व्यवस्थापन गरेमात्र ठमेलमा पर्यटक बढ्ने बताए।
पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले जथाभावी पर्यटकलाई तानेर दुःख दिने व्यक्तिलाई प्रहरीले कारवाही गर्ने बताए।
नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यअनुसार पर्यटनसगँ सम्बन्धित विभिन्न सङ्घ संस्थाले विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन्। रासस