सुनसरी- बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी धरौटीमा छुटेलगत्तै अस्पताल भर्ना भएका छन्।
सुनसरी जिल्ला अदालतले सोमबार रु. ३ लाख धरौटीमा छाड्न आदेश दिएपछि उनलाई उपचारका लागि भन्दै पुनः विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको हो।
यसअघि पनि उनी छाती, मुटु, प्रोस्टेट र पत्थरीको समस्या देखाउँदै मंसिर १२ गतेबाट अस्पताल भर्ना भएका थिए।
उनको अवस्था गम्भीर रहेको भन्दै आइसीयूमा राखिएको थियो। पछि प्रहरीले आइसीयूबाटै पक्राउ गरेको थियो। पक्राउ परेपछि अदालतबाट मंसिर १६ गते पहिलो पटक म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो।
चार पटकसम्म अनुसन्धानको म्याद थप गरेको अदालतले पनि उपचारका लागि अस्पतालमा भर्ना गरेर अनुसन्धान अधिकृत र सरकारी वकिललाई गिरि माथि त्यहीँबाट घटनाको अनुसन्धान अघि बढाउन आदेश दिएको थियो।
एक महिला अनुयायीले सुनसरीको चतरा धामस्थित आश्रममा गिरिले बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो।
सोमबार उनलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो।