काठमाडौं- विभिन्न संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार तथा बेचबिखन गर्ने १३ जना पक्राउ परेका छन्।
चितुवा, सालकको छाला र अंग, भालुको पित्तलगायतका वस्तुहरु ओसार–पसार तथा बेचबिखन गर्न लागेको अवस्थामा उनीहरूलाई प्रहरी केन्द्रीय अनुसधान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।
चितुवाको छालासहित तीन, भालुको पित्तसहित पाँच, सालकको छालासहित चार र सालकको खप्टासहित एक जना पक्राउ परेका हुन्।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार चितुवाको दुई थान छालासहित नुवाकोट बिदुर नगरपालिका–८ का २० वर्षीया सरोज ओझा, काठमाडाैँ तारकेश्वर नगरपालिका–१ बस्ने २३ वर्षीया अखिल लामा भनिने सुरेन्द्र तामाङ र कैलाली लम्की चुहा नगरपालिका–३ बस्ने १८ वर्षीय कृष्ण क्षेत्री भनिने कृष्ण साउद क्षेत्रीलाई पक्राउ गरिएको हो।
उनीहरुलाई टोखा नगरपालिका–३ बाट पक्राउ गरेको सीआईबीले जनाएको छ।
संरक्षित वन्यजन्तु सालकको छालासहितको दुई थान खपटासहित महोत्तरी बर्दिबासका ६० वर्षीय सिंहबहादुर मोक्तान, मकवानपुर बकैयाका ४६ वर्षीय कालबहादुर जिम्बा, धादिङ खनियाबासका २८ वर्षीय सुके तामाङ र त्रिपुरासुन्दरीका २४ वर्षीय उमेश अधिकारी पक्राउ परेका छन्।
उनीहरूलाई भाटभटेनी मन्दिर अगाडीबाट पक्राउ गरिएको थियो।
भालुको पित्तसहित पक्राउ पर्नेमा धादिङ सिद्धलेकका २५ वर्षीय ईश्वर थपलिया, दोलखा बैतेश्वर गाउँपालिकाका ५१ वर्षीय ललितबहादुर विक ३३ वर्षीय राजकुमार दाहाल, २५ वर्षीय यम खाती र बैतडी दोगडाकेदारका २३ वर्षीय हरीश भट्ट छन् ।
चार किलोग्राम सालकको खप्टासहित सिन्धुली तीनपाटन का २२ वर्षीय कर्ण रम्तेल भनिने कर्णबहादुर सार्कीलाई बालुवाटारबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।
पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार बुझाइएको छ।