जनकपुरधाम- जनकपुरका विद्यालयहरु एक सातको लागि बन्द भएका छन्।
अत्याधिक चिसोले जनजीवन कष्टकर हुन थालेपछि जनकपुरधाम उपमहानगरपालिकाले एक साताको लागि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो।
दिनभर शीतलहर र हुस्सु रहन थालेपछि बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने भएकोले एक सातासम्म सम्पूर्ण सामुदायिक र निजी विद्यालयहरु बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव मेहिलाल यादवले जानकारी दिए।
उपसचिव यादवका अनुसार सोमबारदेखि पौष १८ गतेसम्म जनकपुरको सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय भएको छ।
उपमहानगरपालिकाले एक साता विद्यालयहरु बन्द गर्ने निर्णय गरे पनि निजी विद्यालयको संगठन एनप्याबसन र प्याबसनले भने तीन दिनमात्र विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
विद्यालयहरुमा तेस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्नुपर्ने भएकोले निजी विद्यालयहरुले तीन दिनको लागि विदा गर्ने निर्णय गरेको एनप्याबसन धनुषाका अध्यक्ष चन्द्र नारायण मण्डलले बताए।
पछिल्लो एक सातादेखि जनकपुरसहितको क्षेत्रमा घाम नउदाउँदा चिसो बढेपछि जनजीवन प्रभावित भएको छ। शीत लहर र हुस्सुका साथै चिसो हावाका कारण जनकपुरसहितको क्षेत्रमा तापक्रम घट्दै गएको छ।
शीतलहर र हुस्सुले काठमाण्डु–जनकपुर हवाइ सेवासमेत प्रभावित भएको छ। अवतरण गर्न अनुकूल मौसम नहुँदा प्रायःदिनहुँ विमान रद्द हुने गरेको छ। गएको सातामात्रै चार दिन सबै विमानहरु रद्द भएका छन्।