काठमाडौं - पोखरा प्रिमियर लिग (पीपीएल)मा विराटनगर टाइटन्सले पहिलो जित निकालेको छ। बुधबार सम्पन्न खेलमा पोखरा पल्टनलाई ४५ रनले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको हो। पोखराले भने प्रतियोगितामा खेलेका तीन खेलमा लगातार दुईमा हार व्यहोरेको छ।
१४६ रनको विजयी लक्ष्य पछ्याएको पोखरा १९ ओभर ५ बलमा एक सय रनमा समेटिन पुग्यो। पोखराका रोहित पौडेलले सर्वाधिक ३२ रन बनाए। यस्तै कुशल भुर्तेलले २४ तथा आशिफ शेखले १३ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकसमेत जोड्न सकेनन्। पोखरालाई सस्तैमा समेट्ने क्रममा विराटनगरका किशोर महतोले ३ तथा जितेन्द्र मुखिया र मोहम्मद जइद आलमले समान २/२ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले पुनित मेहराको अर्धशतकीय पारीको मद्दतले निर्धारित ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ४५ रन बनाएको थियो। उनले अविजित रहँदै २६ बलमा पाँच चौका र चार छक्काको मद्दतमा ६६ रन जोडे।
पहिलो विकेटका लागि विराटनगरका सुनिल धमला र मोहम्मद जइद आलमले ५० रनको साझेदारी गरेका थिए। जइदले २६ रन बनाउँदा धमला ३६ रनमा आउट भए। अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन्।