पोखरा- दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा सबै स्वर्ण पदक बंगलादेशले जितेको छ।
१० वटा स्वर्ण पदकको लागि पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले आर्चरीतर्फ एकल तथा टिमतर्फको इभेन्टमा स्वर्ण पदक हात पार्न सफल भएको हो।
बंगलादेश सोमबार भएको रिकर्भ महिला तथा पुरुष र कम्पाउण्ड तर्फको महिला तथा पुरुष तर्फ पनि स्वर्ण पदक हात पार्न सफल भयो।
रिकर्भ पुरुष तर्फको खेलमा बंगलादेशका विश्व वरियतामा १० औँ भित्र पर्ने उत्कृष्ट खेलाडी एमआर सानाले भुटानका छिरिङ केन्लीलाई पराजित गर्दै स्वर्ण हात पारे।
सोही इभेण्टको महिलातर्फ बंगलादेशकी १४ वर्षकी आतुन एमएसटी इटिवाईले भुटानकी डिमा सोनामलाई पराजित गर्दै स्वर्ण पदक हात पारिन्।
रिकर्भ एकल पुरुषतर्फ श्रीलंकाले कास्य पदक हात पार्न सफल भयो। श्रीलंकाका डिई शिल्भा एमएसले भुटानका स्लामा मोहमदलाई पराजित गर्दै कास्य पदक जित्दा सोही इभेण्टको महिला तर्फ बंगलादेशकी मोनिरा मोहानाजले भुटानकी कर्मालाई पराजित गर्दै कास्य पदक जितिन्।
कर्मा ओलम्पिकमा छनोट भएकी खेलाडी हुन्।
त्यसैगरी कम्पाउण्ड एकल पुरुषतर्फ बंगलादेशका राना एमडी सोहीलले दोर्जे तेण्डीङलाई पराजित गर्दै स्वर्ण पदक हात पारे।
कास्य पदकको लागि भएको खेलमा बंगलादेशका दास असिम कुमारले श्रीलंकाका वासान्त कुमारलाई पराजित गरे।
सोही इभेण्टको महिलातर्फ बंगलादेशकी विश्वास सुमाले श्रीलंकाकी करुणारेन्टी अनुराधालाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्।
श्रीलंकाले यस बिधामा कास्य पदक हात पार्यो। श्रीलंकाकी दमयन्तीले बंगलादशेकी बनिक सुस्मितालाई पराजित गर्दै कास्य पदक जितेकी हुन्।
आइतबार ६ वटा स्वर्ण पदकको छिनोफानो हुँदा सबै स्वर्ण पदकमाथि बंगलादेशले एक्लौटी ढंगले वर्चश्व जमाएको थियो।
१२ औं सागमा कास्य पदक मात्र हात पार्न सफल भएको नेपालले घरेलु मैदानमा भने रजत पदकसम्म हात पार्न सफल भयो।
सागमा सहभागी राष्ट्रमध्ये प्रमुख दाबेदारको रुपमा भारतलाई मानिए पनि यसपटक भारत सहभागी नहुँदा सबै स्वर्ण पदक बंगलादेशले हात पार्न सफल भयो।