काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद (साग) को चौथो दिन नेपालले थप ६ स्वर्ण जितेको छ। यो सँगै नेपालले बुधबारसम्म कुल २९ स्वर्ण जितेको छ। यस्तै नेपालले १४ रजत र १८ कांस्य जितेको छ।
नेपालले बुधबार साइक्लिङ र तेक्वान्दोमा २-२ तथा कराते र उसुबाट १-१ स्वर्ण जितेको हो।
तेक्वान्दोका सक्षम कार्कीले नेपाललाई दक्षिण एसियाली खेलकुदको इतिहासमा १ सयौं स्वर्ण पदक दिलाए। उनले पाकिस्तानका वकर अली शाहलाई फाइनलमा २७-९ ले हराउँदै स्वर्ण जिते। महिला तेक्वान्दोको गेरोगी स्पर्धामा ६२ केजी मूनि नेपालकी संगिता बस्यालले स्वर्ण दिलाइन्।
यस्तै नेपालले अन्तर्राष्ट्रिय डाउन साइक्लिङमा पहिलो पटक स्वर्ण पदक जित्यो। नेपालले पुरुष र महिला दुबैतर्फ स्वर्ण पदक हात पार्यो। महिलातर्फ निश्मा श्रेष्ठ र पुरुषतर्फ राजेश मगरले स्वर्ण दिलाए।
अनुपमा मगरले करातेको ६८ केजी तौल समूहमा स्वर्ण पदक हात पारिन्। उनले पाकिस्तानकी नर्गिसलाई ६-३ अंकले पराजित गर्दै स्वर्ण जितिन्।
उसुको थाउलो नानगुनमा नेपालका दिपक हमालले स्वर्ण जिते। लगनखेलस्थित आर्मी कभर्डहलमा भएको खेलमा उनले १९.३२ अंक ल्याएर स्वर्ण जितेका हुन्।
नेपाललाई हालसम्म स्वर्ण दिलाउने खेलाडी
१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) – लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी)– कुसुम खड्का
७.कराते (५० केजी मूनि) - अनु अधिकारी
८.कराते (६७ केजी) - नवीन रसाइली
९.कराते (६८ केजी)– सुनिता महर्जन
१०. कराते (६८ केजी)– अनुपमा मगर
११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा
२०.ट्रायथलन – सोनी गुरुङ
२१.डुवाथोलन – हिमाल टमाटा
२२. उसु (थाउलो) – विजय सिन्जाली
२३. उसु (थाउलो) – सुस्मिता तामाङ
२४. उसु (थाउलो)– दीपक हमाल
२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ
२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल
२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की