सोमबार, भदौ १, २०८३

बागलुङ जिप दुर्घटना : जो भाग्यले बाँचे

 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडौं– मंसिर १८ गते बुधबार मार्ग शुक्ल अष्टमीको दिन कार्कीहरुको कुलपूजा थियो बागलुङको बायखोलामा। कुलपूजामा जानका लागि मंगलबार गुल्मीका कार्की खलकले जिप रिजर्भ गरेका थिए।

मंगलबार बिहान ५ बजे गुल्मीको इस्मा गाउँपालिका–४ पैयाँबाट जिप छुट्यो बागलुङ निसीखोला–२ बायखोलाका लागि। तर, तीन बच्चासहितका आमा र स्थानीय देवाली गर्ने ठाउँसम्म पुग्नै पाएनन्।

बागलुङसम्मका लागि १८ हजार रुपैयाँमा जिप रिजर्भ भएको थियो। भित्र अटाइ–नअटाइ र छतमा समेत गरेर २५ जना चढेका थिए।
छतमा यात्रु देखेपछि ग्वालीचौर प्रहरी चौकीले गाडी समात्यो। क्षमताभन्दा बढी मान्छे हालेको भन्दै प्रहरीले केही मान्छे झार्‍यो पनि। झारेका मान्छेलाई गन्तव्यसम्म पुर्‍याउनका लागि ग्वालीचौर प्रहरी इञ्चार्ज लालमणि भट्टराईले नै अर्को गाडी खोजिदिए।

‘बच्चासहितका आमा पनि रहेछन् जिपमा। बच्चा काखमा राखेर लैजान्छौं भन्दै थिए तर मैले आठ जनालाई ओरालेर १८ जनालाई मात्र जिपमा पठाएको हुँ। अन्यजनालाई अर्को गाडी खोजेर पठाइदिएको थिएँ। भिमगिठे नजिकै दुर्घटना भएको खबर सुन्दा छाँगाबाट खसेजस्तै भएँ,’ उनले भने।

अघिअघि रिजर्भ गरिएको जिप र पछिपछि प्रहरीले खोजिदिएको भ्यान थियो। भ्यानका चालक तेजबहादुर घर्तीका अनुसार हेर्दाहेर्दै जिप सडकमा रहेको पिलरमा ठोक्कियो र खोलामा खस्यो। ‘गाडी छेउ–कुना गर्दै ढलपलिएर पिल्लरमा ठोक्कियो र एकैछिनमा खोलामा खसेको ठूलो आवाज आयो,’ चालक घर्तीले सुनाए।

दुर्घटना हुनुपूर्व नै जिपबाट झरेर भ्यानमा चढेका थिए विशाल कार्की। उनीसँगै नारायण कार्की, हरि कार्की, मधु कार्की, कर्णबहादुर घिताङ, रवि कार्की, लक्ष्मण खत्री र रुद्र थापा पनि जिपबाट ओर्लिए। विशालका अनुसार मंगलबार राति बागलुङ पुगेर कुलपूजाका लागि झाँक्रीसहित जाग्राम बस्ने र बुधबार कुल पुज्ने कार्यक्रम थियो। तर गुल्मीबाट हिँडेका उनीहरुमध्ये १४ जनाको बाटैमा मृत्यु भयो। बायखोला र गुल्मीको इस्मा शोकमा छ।

दुर्घटनामा घाइते भएका तीन जनाको अहिले काठमाडौंस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको वसन्त कार्कीले बताए। उनीहरुको उपचार खर्च सरकारले नै बेहोर्ने गुल्मीका सांसद गोकर्ण विष्टले बताएका छन्।

प्रकाशित: Dec 03, 2019| 15:12 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।