रूपन्देही (सैनामैना) - बुटबल बजारबाट आधा घण्टा गाडीमा यात्रापछि आउँछ रानी बगिया। त्यहाँबाट करिब १० मिनेट गाउँ छिरेपछि पुगिन्छ ‘श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम।’
सैनामैना–१ मा पर्ने याे मन्दिर यस क्षेत्रमै चर्चित छ। मूलगुरु व्यास आचार्यका अनुसार यहाँसाउनमा नेपाल र भारतका विभिन्न ठाउँबाट गरी ७ लाख श्रद्धालु आउँछन्।
मन्दिर छेउछाउमा केही घर छन्। अधिकांश खेत छ। यस क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा नेकपाका महासचिव विष्णु पौडेल निर्वाचित भएका छन्।
सोमबार उक्त मन्दिरको दर्शन गर्न जाने तयारीमा थिए पूर्वराजा ज्ञानेन्द्र शाह। पूर्वराजा २ बजे आउने भनिए पनि १२ बजेदेखि नै सर्वसाधारणको भीड लागेको थियो। केही राजाका पक्षमा नारा लगाउँदै थिए।
मन्दिर छेउमै केही सर्वसाधारण कुराकानी गर्दै थिए, विषय थियो सत्तारूढ नेकपा नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले होली वाइन खाएको।
स्थानीय कृष्ण थापाले प्रधानमन्त्रीदेखि सबै कम्युनिस्ट नेताले होली वाइन खाएर क्रिस्चियानिटी प्रचार गरेको आरोप लगाए। हिन्दु राष्ट्र पुनर्स्थापना हुनुपर्ने उनको तर्क थियो।
सँगै रहेका नेकपाका स्थानीय नेता शेर मोहम्मद भाँट उल्र्फ शेर खानले भने, ‘होली वाइन हामीले खाएका होइनौं। केन्द्रीय नेताले खाएका हुन्। नेता भएपछि जुनसुकै कार्यक्रममा सहभागी हुनुपर्छ। कसैले झुक्याएर खुवाएको हुनुपर्छ।’
भाँटले हिन्दु राष्ट्र पुनस्र्थापना भए पनि समस्या नभएको दाबी गरे। उनले भने, ‘धर्मनिरपेक्ष जनताले बनाएका होइनन्। नेताहरुले बनाएका हुन्। राजालाई जनताले फालेको होइन, काठमाडौंका नेताले फालेका हुन्।’
भाँटलाई समर्थन गर्दै थिए सैनामैना १ का बालानन्द अर्याल। उनले भने, ‘कांग्रेस सरकार पनि हेरियो, कम्युनिस्टको सरकार पनि हेरियो। यिनीहरु असफल भइसके। ज्ञानेन्द्र राजालाई कसैले काम गर्नै दिएन।’
सैनामैनाकै भरतबहादुर भण्डारीले पनि राजाका पक्षमा समर्थन जनाए। तर, उनले राजा सत्तामा आए पनि खासै प्रगति हुन नसक्ने दाबी गरे।
‘अहिले राजा आउनैपर्छ भन्ने पक्षमा म छैन। तर उहाँसँग शक्ति छ भने कसैले रोक्न सक्दैन’, भण्डारीले भने, ‘पूर्वराजाले आफ्नो शक्ति देखाउनुपर्छ।’
सैनामैना नजिकैको गाउँ हो कुशमा। त्यहाँबाट एक दम्पती पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न आएका थिए। परशुराम दास र रेश्मी चौधरीको इच्छा छ गाउँको मन्दिर व्यवस्थित गर्ने।
‘गाउँमा धेरै पहिले मन्दिर बनेको छ। तर, नेताहरूले सहयोग नगरेपछि अलपत्र छ। मन्दिरमा थप व्यवस्था होस् भनेर पूर्वराजालाई दिन बिन्तीपत्र लिएर आएको छु,’ दासले भने।
नेताहरुले भागबन्डा गरेर बजेट सकेको दाबी गर्दै उनले भने, ‘उनीहरुबाट बचे मात्र मन्दिरलाई दिन्छन्।’
रेश्मीको इच्छा भिन्नै छ। ‘राजा आएपछि काठमाण्डुमा पशुपतिनाथको दर्शन गर्न पाइन्छ। काठमाण्डु पनि जान पाइन्छ’, उनले भनिन्।
पूर्वराजा शाहलाई स्वागत गर्न विद्यार्थी पनि लाइनमा उभिएका थिए। १६/१७ वर्षको उमेर समूहका ती विद्यार्थीसँग कुरा गर्दा उनीहरूलाई राजा फर्किने वा नफर्किने विषयमा वास्ता थिएन।
उनीहरुको चाहना पूर्वराजासँग सेल्फी लिनु थियो। एक जना विद्यार्थीले भने, ‘स्कुलको सरले जानकारी दिनु भयो। हामी आयौं। राजा आएपछि हामी उहाँसँग फोटो लिन्छौं।’