सोमबार, भदौ १, २०८३

‘चुच्चे नक्सालाई बुच्चे बनाउने को हो ?’

 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

काठमाडौं– परराष्ट्र मामिला तथा सीमा विज्ञहरुले भारतले सीमा अतिक्रमण गरेको विषयमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको बताएका छन्। सोमबार काठमाडौंमा नीति अनुसन्धान प्रतिष्ठान र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको ‘अन्तर्राष्ट्रिय सीमा र यसको प्रभावकारी व्यवस्थापन’ विषयक कार्यक्रमका वक्ताहरुले सीमा व्यवस्थापनबारेका प्राविधिक पक्ष, कानुनी तथा सुरक्षाका पक्षहरु र कूटनीतिक आयामबारे बहस गरे।

कार्यक्रममा पत्रकार भैरव रिसालले सीमा अतिक्रमणको यतिधेरै बहस हुँदा पनि सरकार भने सुतिरहेको भन्दै आक्रोश व्यक्त गरे।‘ सरकार सुतिरह्यो, हिँड्दै हिँडेन। चुचे नक्सालाई बुचे बनाउने को हो ? इतिहासमा कसले बेइमानी गरेको छ ? सरकारले कारबाही गर्न सक्नुपर्यो। थाहा भएको कुरा कसैले लुकाउनुभएन। गल्ती गरेको भए क्षमा माग्नुस्, जनताले माफी पनि दिन्छन्।’

नापी विभागका पूर्व महानिर्देशक तोयानाथ बरालले भारत स्वतन्त्र भएपछि र नेपालमा प्रजातन्त्र आएपछि सीमा अव्यवस्थित हुन थालेको तर्क गर्दै सीमा समस्या प्राविधिक रुपमा समाधान गर्न सकिने बताए। सुस्ता विवाद प्राविधिक रुपमा समाधान गर्न सकिने भए पनि कालानीमा भने राजनीतिक र कूटनीतिक पहल आवश्यक हुने उनको भनाइ थियो।

नापी विभागका अर्का पूर्व महानिर्देशक पुण्यप्रसाद ओलीले सीमामा बस्नेलाई सहज रुपमा नागरिकता दिनुपर्ने, सेवासुविधान दिएर आफ्नो भूमिप्रति अपनत्वको भावना महसुस गराउनुपर्ने, राज्यको उपस्थिति बढाउनुपर्ने सुझाव दिए।

नेपाली सेनाका पूर्व जर्नेल डा. पूर्व सिलवालले भारतले सन् २००१ देखि नै हरेक ५ किलोमिटरमा सीमा सुरक्षा बल (एसएसबी) राखेको जानकारी दिँदै भारतीय पक्षबाट सीमा व्यवस्थित रहेको र नेपालतर्फमात्र अव्यवस्थित रहेको बताए। अन्य देशहरुमा सीमा सुरक्षाका लागि छुट्टै सुरक्षा फौज रहेको दृष्टान्त प्रस्तुत गर्दै सिलवालले नेपालमा पनि त्यस्तो संरचना बनाउनुपर्नेमा जोड दिए।

सशस्त्र प्रहरी बलका पूर्व एआईजी कृष्णकुमार तामाङले सशस्त्र प्रहरी स्थापना हुँदा राज्यले दिएको जिम्मेवारीमध्ये एउटा सीमा सुरक्षा पनि रहेको भए पनि त्यो कार्यादेश अधुरो रहेको बताए। सीमांकन नै राम्रोसँग नहुँदा सुरक्षामा अन्योल भएको उनको भनाइ थियो। ‘कुन भूमि नेपालको हो, कुन भारतको हो भन्ने नै थाहा नभएपछि कसरी सुरक्षा गर्नु ?’ उनले प्रश्न गरे।

सरकारी निकायकै तथ्यांक फरक फरक रहेको र समवय अभाव रहेको उनले बताए। अख्तियारी दिए र साधनस्रोत सम्पन्न बनाए सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी सक्षम रहेको उनको भनाइ छ।

कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने संघीय सांसद दीपकप्रकाश भट्टले अन्तरसरकारी निकायबीच समन्वय अभाव रहेको औंल्याए। उनले भने, ‘परराष्ट्र मन्त्रालय, नापी विभाग, सशस्त्र प्रहरी आ–आफ्नै किसिमले काम गरिरहेका छन्। सीमाको विषय वर्षौंदेखिको हो। अहिले बहसमा आएको छ। यो विषय टुंग्याउने उपयुक्त समय अहिले आएको छ।’

पत्रकार कनकमणि दीक्षितले सीमाका विषयमा अहिले राष्ट्र नै एकढिक्का भएको बताउँदै दीर्घकालीन रुपमा नै समस्या समाधानको बाटो खोजिनुपर्ने बताए। नेपालसँग भएका प्रमाणका आधारमा दरिलो भएर भारतसँग वार्तामा बस्नुपर्ने उनको सुझाव छ।

कार्यक्रममा अतिक्रमण भएको क्षेत्रका प्रतिनिधिहरुले भने राजधानीमा बहस गरेर मात्रै समस्या समाधान नहुने भन्दै सीमा क्षेत्रका जनताका समस्या सुनाएका थिए।

प्रकाशित: Dec 02, 2019| 09:48 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।