काठमाडौं- प्रदेश सभा निर्वाचन अन्तर्गत भक्तपुर १ क मा नेपाली कांग्रेस विजयी भएको छ ।
नेकपाका उम्मेदवार देवी ढकाललाई २२ सय ४३ मतले हराउँदै कांग्रेस उम्मेदवार कृष्ण भँडेल विजयी भएका छन् ।
भँडेलले १३४४९ मत ल्याएका छन् भने नेकपाका उम्मेदवार देवी ढकालले ११२०६ मत पाएका छन्।
भँडेलको जितसँगै प्रदेश ३ मा कांग्रेसको २२ सिट भएको छ। यसअघि प्रदेशसभा चुनावमा कांग्रेसका २१ जना विजयी भएका थिए।
तत्कालीन एमालेबाट निर्वाचित हरिशरण लामिछानेको मस्तिष्कघातबाट निधन भएपछि सो क्षेत्रमा प्रदेशसभा सदस्य रिक्त थियो।
शनिबार सम्पन्न उपनिर्वाचनमा नेमकिपाका उम्मेदवार निरज लबजू ५८२९ मत ल्याई तेस्रा भएका छन् ।
यस्तै राप्रपाका श्यामप्रसाद नेपालले ५७४, साझा पार्टीका सुरज प्रधानले ३९३ र नेकपा मालेका सुदर्शन लामिछानेले ३७ मत ल्याएका छन् ।
४५ हजार २५ मतदाता रहेकाे भक्तपुर १ क मा ३२ हजार ३७ मत खसेकाे थियाे। त्यसमध्ये ४ सय ४५ मत बदर भएकाे जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ।