काठमाडौं– शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत चितवनमा नेपाली कांग्रेसले ‘क्लिन स्विप’ गरेको छ।
चितवनका तीन वडामा भएको वडाअध्यक्ष उपनिर्वाचनमा कांग्रेस विजयी भएको हो। खैरहनी नगरपालिकाको वडा नम्बर ४, ५ र भरतपुर १६ को वडाअध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएको छ।
सार्वजनिक मत परिणामअनुसार खैरहनी नगरपालिका–४ मा कांग्रेस उम्मेदवार देवबहादुर बस्नेत विजयी भएका हुन्। उनले नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई पराजित गरे । बस्नेतले १ हजार १ सय ३८ मत पाउँदा अधिकारीले ९८६ मत ल्याए।
यसअघिको निर्वाचनमा सो वडामा नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका थिए।
जिल्ला निर्वाचन कार्यालयका अनुसार सो वडामा २ हजार ६ सय ९२ मतदाता रहेकोमा २ हजार १ सय ७२ मत खसेको थियो।
खैरहनी नगरपालिका–५ मा कांग्रेसकी प्रतिमा कार्की विजयी भएकी छन्। उनले नेकपाका पुननारायण प्रधानलाई ८६ मतअन्तरले पराजित गरिन्। मतपरिणाम अनुसार कार्कीले ८ सय ४२ मत पाइन् भने प्रधानले ७ सय ५६ मत पाए। सो वडामा १ हजार ६ सय ७० मत खसेको थियो।
भरतपुर महानगर–१६ मा कांग्रेसका अमृतराज हमालले ३ हजार १८३ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका भक्तराज हमालले २ हजार ८ सय ७५ मत ल्याए।
सो वडामा ८ हजार ४ सय ८१ मतदाता रहेकोमा ६ हजार २ सय ५० मत खसेको थियो।
हमाल यसअघिको स्थानीय तहको निर्वाचनमा नेकपाका चतुरमान गुरुङसँग ६४ मतको झिनो अन्तरले पराजित भएका थिए।