काठमाडौं - प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदका लागि बिहान ७ बजेदेखि उपनिर्वाचन सुरु भएको छ। निर्वाचन आयोगका अनुसार, मुलुकका ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ।
प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपनिर्वाचन हुँदै छ। प्रदेशअन्तर्गत दाङ ३ (ख), बागलुङ २ (ख) र भक्तपुर १ (ख) मा मतदान हुन लागेको छ। यस्तै एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि पनि उपनिर्वाचन हुँदै छ।
मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलीयाले आह्वान गरेका छन्।
उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित भरपर्दो एकिकृत सुरक्षा योजना बनाइएको छ। उपनिर्वाचनका लागि ३२ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। मतदान केन्द्रको भित्री घेरामा नेपाल प्रहरी, बीचमा सशस्त्र प्रहरी र बाह्य घेरामा नेपाली सेना रहनेछ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार उपनिर्वाचनका लागि कूल ५ हजार ५३२ कर्मचारी खटाइएको छ।
प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।
अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन पनि आयोगले सबै मतदान अधिकृतलाई निर्देश गरेको छ। निर्वाचन कानुनले अनुमति दिएका उम्मेदवार, मतदाता, व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश नगर्न सुझाव दिदै आयोगले मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढङ्गबाट मतदान गर्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्न र सहज वातावरण तयार गरिदिन अनुरोध गरेको छ।
यसैबीच उपनिर्वाचनमा मतदाताले नागरिकता, लाइसेन्सलगायतका परिचय पत्रको आधारमा पनि मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगका अनुसार मतदाता परिचय पत्र नलिएका, लिएर हराएका वा त्रुटी भएका मतदाताले नेपाल सरकारले जारी गरेका कुनै पनि परिचय पत्रका आधारमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।