आइतबार, साउन ३१, २०८३

बम विस्फोटपछि मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा

उपनिर्वाचन हुनुपूर्व महोत्तरीको पिपरामा बम विस्फोट भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

जनकपुरधाम - उपनिर्वाचन हुनुपूर्व महोत्तरीको पिपरामा बम विस्फोट भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ।

मतदानको तयारीलगायतका विषयमा अनुगमनका गर्न सुरक्षा निकायका प्रमुख पिपरा पुगेका बेला बिहीबार साँझ कुकर बम विस्फोट भएको थियो।

बम विस्फोट नेकपाबाट पिपरा गाउँपालिका अध्यक्षका लागि उम्मेदवार बनेका विक्रम चौधरीको घरमा भएको थियो। घटनापछि महोत्तरीमा मतदान हुने स्थानहरुमा सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए।

मतदानको तयारी अन्तिम चरणमा पुगेको भन्दै खत्रीले मतदान हुने स्थानमा थप सुरक्षाकर्मी खटाइएको जानकारी दिए। शनिबार मतदान हुँदै छ।

निर्वाचन बिथोल्ने गलत उद्देश्यका साथ बम विस्फोट गराइएको भन्दै प्रमुख जिल्ला अधिकारी खत्रीले घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने शंका गरेका छन्। यद्यपि बम विस्फोटको घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ।

महोत्तरीको पिपरामा गाउँपालिका अध्यक्ष, मटिहानीमा वडा नम्बर ६ का अध्यक्ष र बलवामा वडा नम्बर २ र ८ का अध्यक्षका लागि शनिबार मतदान भइरहेको छ।

कुल २९ केन्द्रमा हुने मतदानका लागि स्थानीय प्रशासनले ६ वटा मतदान केन्द्रलाई अतिसंवेदनशील मतदान केन्द्रका रुपमा वर्गीकरण गरेको छ भने बाँकी २३ मतदान केन्द्रलाई संवेदनशील भनिएको छ। स्थानीय प्रशासनले पिपरा गाउँपालिकाको वडा नम्बर ७, मटिहानी र बलवास्थित मतदान केन्द्रलाई अतिसंवेदनशील मतदान केन्द्रका रुपमा वर्गीकरण गरेको छ।

अतिसंवेदनशील मतदान केन्द्रहरु आफूहरुको विशेष निगरानीमा रहेको प्रमुख जिल्ला अधिकारी खत्रीले नेपाल समयलाई बताए। उनले निर्वाचन हुने क्षेत्र थोरै रहेकाले पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।

निर्वाचन हुने समय विगतकै मापदण्डअनुसार मतदान केन्द्रको भित्री सुरक्षा नेपाल प्रहरी, त्यसपछि सशस्त्र प्रहरी र बाहिर नेपाली सेना रहने व्यवस्था गरिएको उनले बताए।

जनकपुर पुग्न तीर्थालुलाई समस्या

रामजानकी विवाहोत्सवमा सहभागी हुन महोत्तरी नाका भएर जनकपुर पुग्ने तीर्थालुलाई समस्या हुने भएको छ। उपनिर्वाचनका कारण सार्वजनिक यातायात सञ्चालनमा शनिबार रोक लागेपछि जलेश्वर नाका हुँदै जनकपुरसम्म पुग्न कठिन हुनेछ।

जलेश्वर–जनकपुर सडकखण्डमा पर्ने महोत्तरीको पिपरामा शनिबार अध्यक्ष पदका लागि मतदान भइरहेको छ। बिहान सात बजेदेखि मतदान अवधिभर सार्वजनिक यातायात सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ।

प्रमुख जिल्ला अधिकारी खत्रीले भारतबाट रिजर्भ गरेर आउने तीर्थालुका गाडीबीच कतै नरोकी सोझै जनकपुरसम्म पुग्न अवरोध नरहे पनि सार्वजनिक यातायातको साधन भने सञ्चालन नहुने जानकारी दिए।

प्रकाशित: Nov 29, 2019| 08:11 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।