काठमाडौं । नेपाल चिकित्सक संघले बलात्कार प्रयासको आरोपमा पक्राउ परेका डा. रोहितकुमार झालाई रिहा गर्न माग गरेको छ । यौन दुर्व्यवहारको आरोपमा थुनामा रहेका डा. झाविरुद्ध संशोधित मुलुकी अपराध संहिता ऐन २०७५ विपरीत हुनेगरी मुद्दा दर्ता भएको भन्दै चिकित्सक संघले आपत्ति जनाएको छ ।
संघले गृहमन्त्री थापाका नाममा पत्र लेख्दै संघले डा. झामाथि लागेको आरोप झुटो भएको दावी गरेको छ । संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी पत्रमा विद्यमान संशोधित मुलुकी अपराध संहिता ऐन विपरित अस्पताल जस्तो संवेदनील क्षेत्रमा बिरामी चेकजाँच गरिरहेको चिकित्सकलाई विना कुनै अनुसन्धान स्वास्थ्य परीक्षण गराई बाहिर गइसकेको विरामीले त्यसपछिको बिरामी जाँच गरिरहेको अवस्थामा परीक्षण कोठा बाहिर हुल हुज्जत गरी जवरजस्ती करणी उद्योग गरेको भनि झुटा अभियोगमा जबरजस्ती करणी गरेको भनि झुटा आरोपमा चिकित्सकलाई पक्राउ गरिएको उल्लेख छ ।
यौन दुर्व्यवहार गरेको आरोपमा डा. झालाई प्रहरीले चार दिनअघि नेपाल मेडिसिटी अस्पतालबाट पक्राउ गरेको थियो ।