काठमाडौं- राजधानीबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज (शुक्रबार) विभिन्न विषयलाई प्रमुख पृष्ठमा स्थान दिएका छन्।
कान्तिपुर दैनिकले ‘कार्यसम्पादन सम्झौताका चार महिना : सबै मन्त्रालयका काम अपुरै’ मुख्य पृष्ठमा बक्ससहित प्रकाशित गरेको छ।
कान्तिपुरले लेखेको छ,“प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कामलाई तीव्रता दिने भन्दै यो आर्थिक वर्षको सुरुमै मन्त्री र सचिवहरूसँग कार्यसम्पादन सम्झौता गरे पनि पहिलो चार महिनाको प्रगति निराशाजनक देखिएको छ। आर्थिक वर्षको पहिलो चार महिनामा कुनै पनि मन्त्रालय र निकायले आफैले निर्धारण गरेको लक्ष्यसमेत प्राप्त गर्न सकेनन्।”
यस्तै, सोही दैनिकले ‘प्रधानमन्त्रीलाई प्लेटलेट्स चढाइयो’ शीर्षकको समाचार पनि पहिलो पृष्ठमै प्रकाशित गरेको छ।
अन्नपूर्ण पोस्ट दैनिकले भने ‘ग्यास बुलेटमा दुई अर्ब डुब्यो’ शीर्षकको समाचारलाई बक्ससहित प्रकाशित गरेको छ।
समाचारमा भनिएको छ,“भारतीय पक्षको आनाकानीले नेपाली ग्यास व्यवसायीको झन्डै दुई अर्ब डुबेको छ। संविधान जारीलगत्तै भारतले लगाएको नाकाबन्दीबाट ‘पाठ’ सिकेर तत्कालीन केपी शर्मा ओली सरकारले भारतबाट ग्यास आयात गर्ने साधन ‘बुलेट’ राख्ने निर्णय गरेको थियो। बुलेट निर्माण गर्दा दुईतिहाइ भन्सार छुटसमेत दिइएको थियो।
यस्तै, सोही दैनिकले ‘ट्रम्प रणनीतिले राष्ट्रसंघ चरम आर्थिक संकटमा : विश्वको चासो महाअभियोगतर्फ’ शीर्षकको समाचार प्रकाशित गरेको छ।
नागरिक र नयाँ पत्रिका दैनिकले भने दुर्घटनासम्बन्धी समाचारलाई मुख्य बनाएका छन्।
नयाँ पत्रिका दैनिकले ‘दुर्घटना बढिरहे, सावधानी बढेन’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ । नागरिकले ‘जेब्राक्रस कि मुत्युरेखा ?’ शीर्षकको समाचारलाई पहिलो पृष्ठमा प्राथमिकताका साथ प्रकाशित गरेको छ।
यस्तै, यी दुवै पत्रिकामा प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमा क्रमिक सुधार भएको विषयका समाचार पनि प्रकाशित भएका छन्।