सोमबार, कात्तिक २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नक्कली हस्ताक्षर गरी बैंकबाट लाखौं झिक्ने गिरोह पक्राउ, कर्मचारीको संलग्नता हुनसक्ने

नक्कली हस्ताक्षर गरी बैंकबाट लाखौं झिक्ने गिरोह पक्राउ, कर्मचारीको संलग्नता हुनसक्ने

 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

काठमाडौं । प्रहरीले अरुको हस्ताक्षर नक्कल गरी बैंकबाट लाखौं रुपैयाँ निकाल्ने गिरोहका ६ जनालाई पक्राउ गरेको छ ।

मंसिर ८ गते (आइतबार) राति साढे ८ बजे जनता बैंकका खातावाल गोपालमान राजबाहकको मोबाइलमा उनको खाताबाट पटकपटक गरी १९ लाख ९ हजार रुपैयाँ निकालेको म्यासेज आयो ।

राजबाहकको सूचनाका आधारमा राष्ट्र बैंक र सम्बन्धित बैंकको सहयोगमा अनुसन्धान अघि बढाएको प्रहरीले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो ।

गिरोहले नक्कली चेकबुक बनाएर खाताबाट पैसा झिकेको प्रहरीले जनाएको छ ।

राजबाहकको खाताबाट पैसा निकाल्न एक जना व्यक्ति जनता बैंकको न्युरोड शाखामा गएको सूचना प्राप्त हुनासाथ प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । उनकै सूचनाका आधारमा प्रहरीले थप केहीलाई पनि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, सुमन पौडेल र गोविन्द घिमिरे छन्।

उनीहरुबाट १८ लाख ५० हजार रुपैयाँ नगद, विभिन्न बैंकहरुका चेकबुक, विभिन्न व्यक्तिका नागरिकताको २९० प्रतिलिपि, विभिन्न प्रकारका हस्ताक्षर नमुना र अन्य कागजात समेत बरामद भएको छ।

त्यस्तै विभिन्न व्यक्तिको खाता खोल्न फोटो टाँसेको फर्म ३०० थान, जनता बैंक, एभरेष्ट, माछापुछ्रे, मुक्तिनाथ, एनआईसी एसिया लगायतका बैंकबाट विभिन्न व्यक्तिका नाममा जारी भएका चेकबुक र विभिन्न बैंकका एटिएम कार्डहरु ठूलो मात्रामा बरामद भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा राखेर उनीहरुलाई बैंकिङ कसुरमा सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुले विभिन्न व्यक्तिहरूको हस्ताक्षर नक्कल गरी त्यही व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर चेकबुक र रकम निकाल्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

यसमा बैंकका कर्मचारीहरुको मिलोमतो हुनसक्ने प्रहरीको अनुमान छ । पक्राउ परेकालाई महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

प्रकाशित: Nov 27, 2019| 06:24 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।