इटहरी– यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनअन्तर्गत धरान उपमहानगरमा मेयर पदमा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले प्रतिष्ठाको विषय बनाएका छन्। उनीहरूले चुनावी सभामा शीर्ष नेता बोलाएका छन् भने घरदैलो अभियानमा केन्द्रीय स्तरका नेता खटाएका छन्।
नेपाली कांग्रेसले मंगलबार धरानमा आयोजना गरेको चुनावी सभामा सभापति शेरबहादुर देउवाले सम्बोधन गरेका थिए। सभामा रामशरण महत, महेश आचार्य, गगन थापालगायत नेतासमेत उपस्थित थिए।
यस्तै, नेकपाले आज आयोजना गर्न लागेको चुनावी सभामा उच्चस्तरीय नेताले सम्बोधन गर्दैछन्। अध्यक्ष प्रचण्डसँगै नेता सुभाष नेम्बाङ, भीम आचार्य लगायतले सभा सम्बोधन गर्ने नेकपाले जनाएको छ।
नेकपा र कांग्रेसले घरदैलो अभियानमा केन्द्रीयस्तरका नेतालाई खटाएको छ। नेपाली कांग्रेसले मीन विश्वकर्मा, रामहरि खतिवडा, धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मा र विजयकुमार गच्छदारलाई घरदैलो कार्यक्रममा उतारेको थियो। यस्तै, नेकपाले भने नेता भीम आचार्यसँगै विद्यार्थी नेता ऐन महर र रञ्जित तामाङलाई घरदैलोमा खटाएको छ।
उपनिर्वाचनमा ९२ हजार ८ सय ५३ मतदाता छन्।
२०७५ साउन १ गते उपचारका क्रममा धरानका तत्कालीन मेयर तारा सुब्बाको निधन भएपछि धरानमा उपनिर्वाचन हुन लागेको हो।