जनकपुरधाम - सप्ताहव्यापी रामजानकी विवाह महोत्सव मंगलबारदेखि सुरु भएको छ। १६ मंसिरसम्म चल्ने विवाह महोत्वसको पहिलो दिन मंगलबार जनकपुर नगरदर्शन कार्यक्रम सम्पन्न भएको छ।
त्रेतायुगमा अयोध्याबाट जनकपुर विवाह गर्न आएको बेला भगवान राम र लक्ष्मणलाई जनकपुरको नगरपरिक्रमा गराइएको विश्वासका साथ हरेक वर्ष विवाहपञ्चमीमा नगरदर्शन कार्यक्रम हुँदै आएको छ।
नगर दर्शन कार्यक्रमअन्तर्गत बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाइ नगर परिक्रमा गराइएको छ। जानकी मन्दिरबाट सुरु भएको परिक्रमा पुनः जानकी मन्दिर पुगेर समापन भएको थियो।
नगर दर्शनको समापन समारोहमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, प्रदेशसभा सदस्य परमेश्वर साहलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो।
यता विवाह महोत्सव कार्यक्रममा सहभागी हुन अयोध्याबाट हिँडेका जन्ती सीमावर्ती क्षेत्र मधुबनी जिल्लाको बासोपट्टी पुगेको छ। महोत्तरीको मठिहानी हुँदै जन्ती बुधबार जनकपुर पुग्ने कार्यक्रम रहेको छ।
अयोध्याबाट पाँच सयको संख्यामा आएका जन्तीलाई महोत्तरीको मठिहानीका साथै जनकपुर प्रवेश गर्ने नाकामा स्वागत गर्ने कार्यक्रम रहेको जानकी मन्दिरले जनाएको छ। यसका साथै जनकपुरको बाह्रबिघा मैदानमा आयोजना हुने एक कार्यक्रमका बीच बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले जन्तीको स्वागत गर्ने कार्यक्रम तय भएको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले बताए। राष्ट्रपति भण्डारी बिहान ११ बजे जनकपुर आइपुग्ने बताइएको छ।
उत्तराधिकारी महन्त दासले वैवाहिक कार्यक्रममा सहभागी हुन अयोध्याबाट आएका जन्तीलाई मिथिला परम्पराअनुसार ५६ प्रकारको व्यञ्जनले स्वागत गर्ने तयारी रहेको जानकारी दिए।
विवाह महोत्सवको दोस्रो दिन बुधबार फूलबारी लिला, १२ गते धनुषयज्ञ, १३ गते तिलकोत्सव, १४ गते मटकोर, १५ गते विवाहपञ्चमीको मूल महोत्सव वैवाहिक कार्यक्रम र १६ गते रामकलेवा गरी अयोध्याबाट आएका जन्तीलाई बिदाई गर्ने कार्यक्रम रहेको छ।