काठमाडौं- नेपालका सातवटै प्रदेशमध्ये प्रदेश– ५ मा सुर्तीजन्य पदार्थको सेवन बढी हुने गरेको एक अध्ययनले देखाएको छ।
विश्व स्वास्थ्य संगठन र नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको हालै गरेको एक सर्वेक्षणमा प्रदेशमा ५ का ३६.६%ले सुर्तीजन्य पदार्थ (चुरोट, सुर्ती, गुटखा) को सेवन गरिहेको पाइएको हो।
प्रदेश–५ पछि सुर्तीजन्य पदार्थ सेवन बढी गर्नेमा सुदूरपरिश्चम प्रदेशका वासिन्दा छन् । सुदूरपश्चिमका ३३.८% ले सुर्तीजन्य पदार्थ सेवन गरिरहेको सर्वेक्षणले देखाएको छ ।
त्यसैगरी, कर्णाली प्रदेश र प्रदेश– २ मा मा सुर्तीजन्य पदार्थ प्रयोगकर्ताको संख्या २९.७% छ भने गण्डकी प्रदेशमा २५.९% ।
सुर्ती, चुरोट र गुटखाको लत बसेकाहरु प्रदेश ३ मा २२.२% र प्रदेश १ मा २२.८% रहेको पनि सर्वेक्षणले औंल्याएको छ।
सुर्तीजन्य पदार्थको प्रयोगले प्रत्येक वर्ष २७ हजारभन्दा बढी नेपालीको ज्यान जाने गर्छ ।
विश्व स्वास्थ्य संगठन र स्वास्थ्य अनुसन्धान परिषदले १५ देखि ६९ बर्ष उमेरका मानिसहरुमा गरेको सर्वेक्षणको नतिजा हो योे।
सर्वेक्षण अनुसार नेपालमा ४८% पुरुष र ११.६% महिलाले सुर्तिजन्य पदार्थ सेवन गर्छन् ।
जसमा चुरोट सेवन गर्ने १७.१% प्रतिशत छन् भने सुर्तिजन्य अन्य पदार्थ प्रयोग गर्ने १८.३% छन् ।
जंकफूडमा पनि प्रदेश– ५ अगाडि
जंकफुडको प्रयोग गर्नेमा प्रदेश– ५ का वासिन्दा बढी रहेको सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षण प्रतिवेदन अनुसार प्रदेश ५ का २५.६% ले दैनिकजसो जंकफुडको प्रयोग गर्छन् । प्रदेश नं ५ मा खानामा नुनको प्रयोग समेत बढी हुने अध्ययनले देखाएको छ ।
प्रदेश– ५ पछि जंकफुड बढी प्रयोग गर्नेमा प्रदेश–३ छ । प्रदेश– ३ का २२% जंकफुड तथा बढी नुन खाने गरेका छन् ।
त्यस्तै कर्णाली प्रदेश जंकफुड प्रयोग गर्नेमा तेस्रो नम्बरमा रहेको छ । कर्णालीमा २१.२% ले दैनिकजसो जंकफुड प्रयोग गर्छन् ।
त्यस्तै प्रदेश– १ मा २१.१%, गण्डकी प्रदेशमा १५%, प्रदेश– २ मा १४.३% र सुदुरपश्चिम प्रदेशमा १३.६% ले दैनिक जंकफुड प्रयोग गर्छन् ।
कहिल्यै मद्यपान नगर्ने ७२ प्रतिशत
सर्वेक्षणका अनुसार नेपालका ७२ प्रतिशत मानिसले जीवनमा कहिल्यै पनि मद्यपान गरेका छैनन् । यसरी रक्सी कहिल्यै नखाएकाहरु पुरुष ५६% र महिला ८६.५% छन् ।
कहिल्यै पनि मद्यपान नगर्नेमा सबैभन्दा बढी प्रदेश नं २ मा ८६.२% छन् ।