मंगलबार, चैत १०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • 'साग'को सुरक्षा योजना तयार, १८ हजार सुरक्षाकर्मी परिचालन गरिने

'साग'को सुरक्षा योजना तयार, १८ हजार सुरक्षाकर्मी परिचालन गरिने

दक्षिण एसियाली राष्ट्रहरुको खेलकूदको कुम्भमेला १३औँ दक्षिण एसियाली खेलकूद (साग) लाई व्यवस्थित र शान्तिपूर्ण बनाउन चारवटै सुरक्षा निकायको समन्वयमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ।
 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

काठमाडौं - दक्षिण एसियाली राष्ट्रहरुको खेलकूदको कुम्भमेला १३औँ दक्षिण एसियाली खेलकूद (साग) लाई व्यवस्थित र शान्तिपूर्ण बनाउन चारवटै सुरक्षा निकायको समन्वयमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ।

National life

साग खेलकूद आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा बनेको साग सुरक्षा समन्वय समितिले चुस्त सुरक्षा व्यवस्था मिलाएको छ। समितिमा नेपाली सेनाका सहायक रथी हिमांशु खड्का, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक दीपककुमार थापा, सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रसाद गौतम, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र राष्ट्रिय खेलकूद परिषद् (राखेप) का प्रतिनिधि सरस्वती केसी र खगेन्द्र पौडेल छन्। मुलुकको विभिन्न जिल्लामा यही मङ्सिर १५ देखि २४ गतेसम्म साग आयोजना हुँदैछ।

‘शान्ति, मित्रता र समृद्धि’को नारासहित आयोजना हुन लागेको प्रतियोगितालाई ऐतिहासिक र अविस्मरणीय बनाउन उक्त समितिले खेलकूद विशेष सुरक्षा योजना बनाएर आवश्यक सुरक्षाकर्मी परिचालन गरिसकेको छ।

यसपटकको साग सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धानका १८ हजार बढी सुरक्षाकर्मी परिचालन हुँदैछन। नेपाल प्रहरीबाट मात्रै १० हजार बढी सुरक्षाकर्मी परिचालन हुने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। सुरक्षाका लागि जिल्लाबाट समेत प्रहरी झिकाइएको छ।

पोखरेलले भने, “नेपालमा सुरक्षाको चुनौती खासै छैन, सानातिना आउनसक्ने चुनौतीको विश्लेषण गरेर खेल हुने स्थानसहित विमानस्थलदेखि आवासस्थलसम्मको सुरक्षा प्रबन्ध गरिएको छ, खेलस्थलमा दर्शकबीच पक्ष विपक्षमा हुन सक्ने सम्भावित गतिविधिको उच्च निगरानी राखेर सोहीअनुसारको सुरक्षा मिलाइनेछ।”

Laxmi sunrise bank
kumari

साग सुरक्षामा सशस्त्र प्रहरीको तर्फबाट मात्रै पाँच हजार बढी खटाइने सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक सुरजकुमार श्रेष्ठले जानकारी दिए। तीन हजार बढी नेपाली सेना खटिनेछन्। नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा प्रतियोगिता हुन लागेकाले शान्ति सुरक्षालाई महत्वका साथ हेरिएको छ।

यसपटक काठमाडौँ, ललितपुर, कास्की र धनुषा जिल्लाका ३० खेलस्थलमा २६ खेल सञ्चालन हुनेछ। काठमाडौँमा १२, ललितपुरमा ९ र पोखराका आठ तथा जनकपुरको एक स्थानमा खेल हुने छ। सबै क्षेत्रमा आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरिएको छ।

यसपटकको खेलमा भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो, लनटेनिस, ह्यान्डबल, गल्फ, जुडो, कराँते, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, उसु, आर्चरी, एथलेटिक्स, बास्केटबल, साइक्लिङ र फेन्सिङ समावेश गरिएको जनाइएको छ। अन्तिम समयमा प्याराग्लाइडिङ खेललाई हटाइएको छ।

खेलमा नेपाली ६४८ सहित तीन हजार २२८ खेलाली सहभागी हुने जनाइएको छ। सागका ९ खेल पोखरा, १ खेल जनकपुर र बाँकी खेल काठमाडौँ तथा ललितपुरमा हुनेछन्। नेपालले सबै खेलमा सहभागिता जनाउने छ।

खेलमा आयोजक प्रतिनिधि, निर्णायक मण्डलसहित दुई हजार २०९ जना सहभागी हुने छन्। दुई हजार स्वयंसेवक परिचालन हुने जनाइएको छ। सन् १९८४ मा पहिलोपटक नेपालबाट सागको सुरुवात भएको हो। सन् १९९९ मा तेस्रो संस्करणको आयोजनापछि यसपटक नवौँ संस्करण नेपालमा आयोजना भएको हो।

सागमा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ। खेलको कृष्णसार आकृतिमा मस्कट तयार गरिएको छ। हरेक दुई वर्षमा आयोजना हुने प्रतियोगिता विसं २०७२ को विनाशकारी भूकम्पका कारण हुन सकेको थिएन। प्रतियोगितालाई ध्यानमा राखेर अहिले पूर्वाधार निर्माण, खेलस्थलको सौन्दर्यकरणको काम जारी छ।

धेरै खेलाडीको सहभागिताले उपत्यकाको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहने विश्लेषण गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले खेलकै लागि ७०० ट्राफिक प्रहरी खटाएर यातायात व्यवस्थापन गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

उद्घाटन र समापनको दिनमा हुने भीड व्यवस्थापनका लागि छिट्टै बाटो निर्धारण गरेर सर्वसाधारणलाई अपिल गरिने उनले बताए। उक्त समयमा मुख्य सडकको ट्राफिक कम गर्न भित्री सडक तथा कोरिडोर खुला गर्न लागिएको प्रहरीले जनाएको छ। (नारायण ढुङ्गाना/रासस)

प्रकाशित: Nov 26, 2019| 11:09 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।