काठमाडौं - सरकारले बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि हासिल गरेको राष्ट्रिय महिला भलिबल टोलीलाई मंगलबार नगद पुरस्कारसहित सम्मान गरेको छ ।
नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकूद (साग)मा सहभागीलाई शुभकामना प्रदान गर्न मंगलबार आयोजित कार्यक्रममा भलिबल खेलमा ऐतिहासिक सफलता हासिल गरेको भन्दै अर्थमन्त्री डा युवराज खतिवडा, युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारलगायतले सम्मान गरे। सम्मानस्वरुप राष्ट्रिय टोलीका प्रत्येक सदस्यले जनही तीन लाख प्राप्त गरे।
एभीसी सेन्ट्रल जोनमा नेपालले स्वर्ण जितेपछि सरकारले यसअघि नै नेपाली टोलीलाई जनही तीन लाख प्रदान गर्ने घोषणा गरेको थियो। गत कात्तिक २८ गते भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो।
कार्यक्रममा अर्थमन्त्री खतिवडाले सागलाई सरकारले भ्रमण वर्ष २०२० को पूर्वअभ्यासको रुपमा समेत लिएको बताए। उनले भ्रमण वर्ष सफल बनाउन सागले महत्वपूर्ण भूमिका खेल्ने भन्दै सागले क्षेत्रीय, राजनीतिक र आर्थिक समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरे।
उनले राष्ट्रिय खेल भलिबल भएकाले सुविधा सम्पन्न कभर्डहल निर्माण गर्ने सरकारको योजनासमेत रहेको भन्दै यसका लागि जग्गा खोज्ने काम भइरहेको बताए। १३ औँ साग नजिकिँदै गर्दा सरकारले पदक विजेताको पुरस्कार रकममा उल्लेखनीय वृद्धि गर्ने अर्थमन्त्री खतिवडाले बताए। उनले के कति रकम वृद्धि गर्ने भन्ने विषयमा मन्त्रिपरिषद्बाट पारित भएपछि मात्र उल्लेख गर्ने बताए।
यसअघि सरकारले १२ औँ सागमा स्वर्ण विजेतालाई तीन लाख, रजत विजेतालाई दुई लाख तथा कास्य पदक विजेतालाई एक लाख प्रदान गरेको थियो। त्यसैगरी युवा तथा खेलकूदमन्त्री सुनारले १३ औँ सागमा खेलाडीलाई उच्च मनोबलको साथ खेल मैदानमा उत्रन आग्रह गरे।
साग यही मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा आयोजना हुँदैछ।