बाँके - नक्कली चिकित्सकको उपचारबाट बाँकेको नरैनापुर गाउँपालिकामा दुई जनाको ज्यान गएको छ।
नरैनापुर–५ मटेहिया बस्ने ३० वर्षीया गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका–७ गेंदवा बस्ने २८ वर्षीया मालिक राम धोबीको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भारत श्रावस्ती जिल्लाको मनकौरा गाउँ बस्ने झोले चिकित्सक राजेश सिंहले उपचार गर्दा उनीहरुको ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मान बहादुर बिसीका अनुसार गयारामको घरमा छोराको मुण्डनपछि भोज खाएर बान्ता हुँदा उपचारका लागि सिंहलाई बोलाइएको बुझिएको छ। उपचार गरेको केहीवेरमा गयारामको मृत्यु भएको र मालिकरामको भने उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटैमा मृत्यु भएको बिसीले जानकारी दिए।
लामो समयदेखि गाउँमा अवैध उपचार गरि बसेका सिंहको उपचारबाट धेरैले ज्यान गुमाइसकेका स्थानीय मयाराम धोबीले बताए।