धनगढी– भारतले हालै सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्सामा नेपाल भूमि पारेको भन्दै विरोधमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका ६ विद्यार्थी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा डडेलधुराको भागेश्वर गाउँपालिका–६ का २२ वर्षीय ललित सार्की तथा पर्शुराम नगरपालिका–५ का २३ वर्षीय गणेश बोहरा, बझाङको बुंगल गाउँपालिका–४ का २९ वर्षीय तिलक कुँवर तथा खप्तड छान्ना गाउँपालिका–८ का २५ वर्षीय सुभाष जोशी छन्। यस्तै, दार्चुलाको मार्मा गाउँपालिका–४ का १९ वर्षीय धनसिंह धामी र बाजुराको बुढीगंगा नगरपालिका–१० का २१ वर्षीय दीपक रावतलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उनीहरूलाई दार्चुला सदरमुकाम खलंगाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बिहान ९ बजे खुलामञ्चमा कार्यक्रम गर्ने तयारी भइरहेको सूचनाका आधारमा उनीहरूलाई महेन्द्र मावि खलंगाको गेट, बसपार्क र राति बसेको होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।
उनीहरूको साथबाट प्रहरीले रातो झण्डा आठ थान, पर्चा र सहयोग रसिद बरामद गरिएको प्रहरीले जनाएको छ। ‘भारतीय विस्तारवाद मूर्दावाद, आइ लभ नेपाल’, ‘नरेन्द्र मोदी मूर्दावाद, कालापानी हाम्रो हो’, लगायत लेखेका पर्चा फेला परेको जोशीले बताए।
जिल्लामा ठूलो संख्यामा विप्लव कार्यकर्ता भित्रिएको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई निगरानीमा राखेको थियो। विप्लव निकटका विद्यार्थी सोमबार राति दार्चुला पुगेका हुन्। सदरमुकाम खलंगाको एक होटलमा ११ विद्यार्थी बसेको स्रोतले जनाएको छ।
भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेट्दै नयाँ नक्सा सार्वजनिक गरेपछि देशभर यसको विरोध भइरहेको छ। विद्यार्थीलाई कार्यक्रम गर्नुअघि नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।