काठमाडौं– कास्की–२ मा उपनिर्वाचनको माहोल तातेको छ। प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा यसपटक कास्की–२ विशेष चर्चामा छ।
प्रमुख दलका शीर्ष नेताहरू आफ्ना उम्मेदवारका पक्षमा मत माग्न पोखरा पुगेका छन्। दलहरूले यो उपनिर्वाचनलाई प्रतिष्ठाको लडाइँ बनाएकाले पनि सबैको चासो यहाँ बढेको हो।
नेकपाले तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सपना पूरा गर्ने बाचा गर्दै चुनावी गतिविधि केन्द्रित गरेको छ भने कांग्रेस नेताहरू दुईतिहाइ नेतृत्वको सरकार असफल भएको भन्दै भोट आफ्नो पक्षमा पार्न सक्रिय छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, युवा नेता गगन थापालगायतले चुनावी सभामा सम्बोधन गरिसकेका छन्।
नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायत पनि पोखरेलीमाझ पुगेर आफ्नो पार्टीका उम्मेदवारलाई मतदान गर्न दिन आग्रह गरेका छन् । दुवै दलका केन्द्रीय नेताहरू वडा–वडामा पुगेर भोट मागिरहेका छन् ।
नेकपाले तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई मैदानमा उतारेको छ। कांग्रेसबाट ६ दशकसम्म पार्टीमा सक्रिय रहेका खेमराज पौडेल प्रतिस्पर्धामा छन्। उता साझा पार्टीले रजनी केसीलाई उठाएको छ।
विगत प्रतिनिधिसभा र स्थानीय तहको मत परिणाम हेर्दा निर्वाचनमा कांग्रेस र नेकपाबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। साझा, समाजवादी र राप्रपाका उम्मेदवारले पनि भोट काट्ने भएकाले चुनाव कसले जित्छ भन्ने अनुमान गर्न कठिन छ।
यस क्षेत्रमा २०४८ पछिका ६ वटा चुनावमा कांग्रेस दुईपटक विजयी भएको छ भने नेकपा उम्मेदवार ४ पटक विजयी भएका छन्। रवीन्द्रले २०६४, २०७० र २०७४ मा भएको निर्वाचन जितेर ह्याट्रिक गरेका थिए ।
कास्की–२ मा पोखरा महानगरका ११ वडा छन्। स्थानीय तह चुनवामा वडा नम्बर ४, ९, ११ मा कांग्रेस उम्मेदवार विजयी भएका थिए भने ७, ८, १५, १६, १७, २०, २१ र ३३ मा तत्कालीन एमाले विजयी भएको थियो। यही १४ गते हुन लागेको उपनिर्वाचनमा यो क्षेत्रमा कुल ७१ हजार ८७१ मतदाता सहभागी हुनेछन्।
स्थानीय तह निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै चुनाव लडेका थिए। कुनै पनि वडामा माओवादी उम्मेदवार विजयी भएका थिएनन्।
यतिबेला उम्मेदवारहरू चोकचोकमा पार्टीको झन्डा, तुल, ब्यानर राखेर प्रचारप्रसार गरिरहेका छन्। आमसभा र घरदैलोमार्फत् मतदाता आकर्षित गर्न उनीहरू व्यस्त छन्।
नेकपा उम्मेदवार भट्टराईलाई विजयी बनाउन ११ वटै वडामा केन्द्रीय, प्रदेश, स्थानीयस्तरका नेता–कार्यकर्ता परिचालित भइरहेको पार्टी जिल्ला अध्यक्ष एवं निर्वाचन परिचालन कमिटी संयोजक कृष्ण थापाले बताए।
जनतासँग पार्टी र सरकारले गरेका भौतिक विकाससँगै समृद्धिको अभियानलाई चुनाव लक्षित कार्यक्रमका माध्यमबाट जनताको घरदैलोमा सन्देश पुगेको उनको भनाइ छ। उम्मेदवार भट्टराईले विपक्षीले आफू र आफ्नो दलमाथि लगाएका आरोपको जवाफ जनमतले दिने बताएकी छन् ।
उनले रवीन्द्र अधिकारीले सुरु गरेका अधुरा सपना पूरा गर्ने जिम्मेवारीसहित पार्टीले आफूलाई उम्मेदवार बनाएको स्पष्ट पार्दै पोखराको समग्र विकासका लागि सारथी बन्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
कांग्रेस उम्मेदवार पौडेलले उपनिर्वाचन कास्की–२ का लागि मात्र नभएर समग्र सरकारविरुद्धको अभिमत रहेको बताए। उनले भने, ‘दुई तिहाइको सरकारबाट जनता खुसी छैनन्। हामीले चुनाव जित्छौं।’
पौडेलले पनि ११ वटै वडामा घरदैलो गरिसकेका छन्। अब एकपटक दोहोर्याएर मतदाताकहाँ पुग्ने उनको कार्यक्रम छ।
साझा पार्टीले पनि कास्की–२ आफ्ना गतिविधि केन्द्रित गरेको छ । उम्मेदवारसँगै साझा पार्टीका नेता–कार्यकर्ताहरु आफ्नो पक्षमा जनमत पार्न मतदाता भेटघाट कार्यक्रममा व्यस्त छन्।
साझाकी उम्मेदवार रजनी केसी मतदातालाई आफूतिर तान्न हरेक दिन बिहानदेखि साँझसम्म टोलटोलमा मतदाता भेट्न पुग्छिन्। खेतमा धान काट्दै गरेका मतदाता हुन् या होटल, पसल, व्यवसाय गरिरहेका मतदाता सबैसामु पुगेर रजनी गाउँको भोट आफ्नो पक्षमा तान्न जोडबलले लागेकी छन्।
केसीले पनि आफ्नो जित सुनिश्चित भएको दाबी गरेकी छन्। पुराना दलहरु पटकपटक सत्तामा गए पनि कुनै उल्लेख्य काम गर्न नसकेकाले पोखरेली मतदाताले विकल्पको खोजी गरिरहेको उनको भनाइ छ ।
पोखरा– २ मा समाजवादी पार्टी नेपालले धर्मराज गुरुङलाई अगाडि सारेको छ भने राप्रपाले रोमबहादुर भण्डारीलाई मैदानमा उतारेको छ।