काठमाडौं – उपप्रधान तथा कानूनमन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन्। यादवले सोमबार दिउँसो पदभार ग्रहण गरेका हुन्। पोखराबाट काठमाडौं फर्किए पछि उनी पदभार ग्रहण गर्न निजी गाडी चढेर मन्त्रालय प्रवेश गरेका थिए।
यसअघि स्वास्थ्यमन्त्री रहेका यादवलाई हेरफेरपछि कानुनमन्त्रीको जिम्मा दिइएको थियो। सो समयमा भारत भ्रमणमा रहेका कारण उनले सोमबारमात्रै पदभार ग्रहण गरेका हुन्।
सत्ता साझेदार दलसँग सल्लाह नै नगरी मन्त्रालय हेरफेर गरेको र मन्त्री हटाएको भन्दै यादव नेतृत्वको समाजवादी पार्टीले सरकार छाड्ने चेतावनीसमेत दिएको थियो।
पदभार ग्रहण गर्दै उनले आफू कानुन बनाउने ठाउँमा आइपुगेको बताए। उनले प्रधानमन्त्री ओलीले आफूलाई बढी माया गरेर कानुन मन्त्रालयको जिम्मेवारी दिएको प्रतिक्रिया दिए। धेरै मन्त्रालयको अनुभव होस्, अनुभवी नेता बनोस् भनेर प्रधानमन्त्रीले अर्को मन्त्रालय पठाएको उनले बताए। मन्त्री हेरफेर प्रधानमन्त्रीको विशेषाधिकार भएको यादवको भनाइ छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ मन्त्री हेरफेर गरेका थिए।