दाङ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई सामन्ती राणाशासनको नयाँ संस्करणको संज्ञा दिएका छन्।
दाङको तुलसीपुरमा सोमबार आयोजित साक्षात्कारमा बोल्दै पौडेलले यस्तो बताएका हुन्। उनले भने, “राणाको पथमा हिँडेर यिनीहरूले देशलाई त्यस्तै सामन्ती बाटोमा लान खोजिरहेका छन्, एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउदै गएका छन्।”
द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्दै ठूलो लडाइँ लडेर नेपाली कांग्रेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको स्मरण गर्दै पौडेलले अहिलेको सरकारले त्यसलाई उल्टो बाटो सामन्तवादतर्फ लैजान खोजेको आरोप लगाए।
उनले पतिको मृत्युपछि पत्नीलाई उम्मेदवार बनाउनु त्यसैको सूचक भएको दाबी गरे। उनले भने, “अहिलेको सरकार कुनै पनि र केही पनि आदर्श नभएको जमात मात्रै हो।”
त्यही भएर कम्युनिस्ट सरकारको ज्यादतिको विरुद्धमा नेपाली कांग्रेस देशभरी चुनावी अभियानमा जुटेको उनले बताए। जनतालाई असम्भव सपना देखाएर अघि बढेको कम्युनिस्टको सरकार अहिले झुटो सावित भएको उनको टिप्पणी थियो। “यो सरकारले कुनै पनि राम्रो काम गर्न सकेन,” नेता पौडेलले भने, “तर पनि नेपाली कांग्रेसले सुरु गरेका विकास निर्माणका कामलाई उद्घाटन गर्दै त्यही मञ्चबाट हामीलाई गाली गर्ने काम मात्रै गरिरहेको छ।”