झण्डै २५०० वर्षअघि, अरबी व्यापारीहरुले क्रुर चरा ‘सिनामोलोगस’ का कथा सुनाउँथे । त्यो भयानक चराले दालचिनीका मसिना हाँगा बटुलेर आफ्नो गुँड बनाउँथ्यो रे !
त्यसबेला अरबमा मात्र पाइने दालचिनी संकलन गर्न व्यापारीले सिनामोलोगस चरालाई मासुको ठूलो चोक्टा देखाएर लोभ्याउँथे । आहारा धेरै चाहिने लोभी चरो त्यो मासु चुच्चोमा च्यापेर उड्थ्यो। जसै ऊ गुँडमा पुग्थ्यो, मासुका टुक्राको अतिरिक्त भारले दालचिनीका झिक्राले बनेको गुँड जमिनमा झर्थ्यो। र, बाठा व्यापारीहरु हतार–हतार ती दालचिनीका झिक्रा संकलन गरेर बजारतर्फ दौडन्थे ।
यो कथा रोचक छ । तर, यस्तो चरा अस्तित्वमा रहेको अहिलेसम्म प्रमाणित हुन सकेको छैन । दालचिनी जस्ता मसलाको व्यापार गर्न खोज्ने आफ्ना प्रतिस्पर्धीलाई पन्छाउन माहिर अरबका व्यापारीहरुले यस्तै ‘मिथ’ सुनाएर प्राचीन युनानी तथा रोमनहरुलाई मूर्ख बनाउँथे।
ठ्याक्कै सन्दर्भ र सिलसिला मिलेजस्तो नलागे पनि खानामा स्वाद थप्न होस् वा हावामा सुगन्ध फैलाउन प्रयोग हुने सुगन्धित वस्तुका स्रोतहरु अत्यन्त दुर्गम्य छन् भन्ने भ्रम छर्न चतुर व्यापारीहरु यस्ता कथा बुन्ने गर्थे ।
ग्लोबलाइजेसनको सुरुआत
रोमन युगदेखि मध्ययुगसम्म नै विश्वभर मसलाको माग बढी नै रह्यो। त्यसबेला भारतदेखि युरोपसम्मको अर्थव्यवस्थामा मसलाको प्रभाव रहन्थ्यो । मसलाकै बढ्दो मागले पहिलो पटक वास्तविक अर्थमा विश्व अर्थव्यवस्थाको खाका तयार गर्यो, जसलाई आज पनि महसुस गर्न सकिन्छ।
त्यसबेला जोसँग मसलाको स्रोत र वितरणलाई नियन्त्रित गर्ने सामर्थ्य हुन्थ्यो, उनीहरु संसारभर पुँजीको प्रवाहलाई मोड्न सक्थे।
दालचिनीजस्ता मसलाहरुको स्रोतबारेका मिथहरु धेरै लामो समयसम्म गोप्य रहन सकेनन्। सन् १४९८ मा पोर्चुगलका अन्वेषक भास्को डि गामाले पहिलो पटक सामुद्रिक मार्गबाट अफ्रिकी महादेशको दक्षिणी किनारदेखि युरोेप हुँदै भारतसम्मको यात्रा तय गरे।
उनको यात्राको प्रमुख उद्देश्य नै बिचौलियालाई पन्छाएर सस्तो र प्रशस्त मसला पाइने स्थानसम्मको पहुँच मार्ग पहिल्याउनु थियो। मसला व्यापारको राजधानी भनिने भारतको मालाबर तटमा उनको आगमनले युरोप र दक्षिण–पूर्वी एसियाबीच प्रत्यक्ष व्यापारको थालनी गर्यो।
डि गामाको यात्रा र उनको देश अरब व्यापारीहरुका लागि ठूलो धक्का सावित भयो । युरोपदेखि भारतसम्म सिधा व्यापारको बाटो खुला गर्ने क्रममा डि गामाले अरब व्यापारीहरुमाथि निर्मम आक्रमण समेत गरे। अरबका व्यापारीले ठूलो आर्थिक क्षति ब्यहोर्नुपर्यो ।
बेलायतको लिसेस्टर विश्वविद्यालयमा पुरातत्वका प्राध्यापक मरिज्के भ्यान दर वीनका अनुसार संसारको एउटा कुनाबाट अर्को कुनामा मसलाको व्यापार भइरहँदा समुद्री किनारा र अन्य ठाउँमा पूर्वाधार निर्माणको आवश्यकता भयो। रोमन कालदेखि शुरु भएको यस्तो व्यापार र पूर्वाधार निर्माण मध्य युगसम्म निकै विस्तार हुनपुग्यो।
“यो नै ग्लोबलाइजेसनको सुरुआत थियो, जुन मध्ययुगमा अझ फैलियो,” प्राध्यापक वीन भन्छन्। यसको परिणाम के भयो भने, यूरोपेलीहरुको आहारमा स्थायी परिवर्तन आयो। उनीहरुको निरस र स्वादरहित खानामा मसला नभई नहुने भयो। तर, योभन्दा पनि महत्वपूर्ण भोजनमा मसलाको प्रयोगले सामाजिक वर्गमा पनि विविधता ल्याइदियो। मसला खानेहरु धनी र शक्तिशाली मानिन थाले।
उपनिवेशवाद पनि
प्राध्यापक वीनका अनुसार युरोपमा गहिरो सामाजिक, भावनात्मक र आर्थिक प्रभाव पारेको मसलाले सभ्रान्तहरुलाई आफ्नो जीवनशैलीको भव्यता झल्काउने मौका दियो। र, यो कुरा सर्वसाधारणको पहुँचमा छैन भन्ने पनि जाहेर गरिरह्यो।
फलतः मसलाप्रतिको आशक्ति सुगन्धित स्वादभन्दा पर पुग्यो। एसियालीहरुले युगौंदेखि उपभोग गर्दै आएको मसला युरोपमा भने एउटा नयाँ उच्च सामाजिक वर्गको परिचायक बन्न पुग्यो।
येल विश्वविद्यालयका इतिहासविद् पल फ्रिडम्यानका अनुसार भोजनमा पोषणको मात्रामा खासै वृद्धि नगर्ने यस्तोे मसलामाथि पहुँचको होडबाजीले इतिहासमा निकै घातक परिणामहरु निम्त्याएको छ।
ती परिणाममध्येको एउटा हो, ‘न्यु वर्ल्ड’ भनेर चिनिने अमेरिकी महादेशको औपनिवेशीकरण। मसला खोज्ने अभियानमा युरोपबाट पूर्वतर्फ लाग्न चाहेका क्रिस्टोफर कोलम्बस बाटो बिराएर पश्चिमतर्फ लाग्दा अमेरिकी महादेश पुगे र त्यस क्षेत्रलाई अधिनस्थ गर्न पुगे।
सुरुआती दिनहरुमा ठूलै उथलपुथल ल्याएको भए पनि मसला व्यापारको वर्तमान प्रकृति भने अत्यन्त सामान्य छ। अचेल अत्यन्त सर्वसुलभ मसला सुपरमार्केटका र्याकदेखि बाटो छेउका पसल र भोजनालयसम्म जताततै पाइन्छ।
भास्को डि गामालाई जहाजी यात्रामा छिचोल्न महिनौं लागेको मार्गको साटो आज एउटा महादेशबाट अर्को महादेश उडेर केही घण्टामै पुग्न सकिन्छ।
चुनौती
तर, केही कुरा भने शताब्दियौंदेखि निरन्तर उस्तै छन् । जस्तो– भारत अझै पनि मसला व्यापारको केन्द्र नै हो । विविध प्रकारका मसला उत्पादनका लागि अनुकूल जलवायु भएको भारतले इतिहासदेखि नै उपयुक्त मौसमको फाइदा उठाइरहेको छ । उष्ण प्रदेश तथा अधिक वर्षा हुने स्थानहरुमा प्रशस्त उत्पादन हुने बेसार र चिसो तथा सुख्खा उपोष्ण स्थानमा हुने जीरा जस्ता सबैथरी मसलाका लागि भारतीय भूमि अनुकूल छ ।
नटिङ्घम विश्वविद्यालयमा ‘ग्लोबल फुड सप्लाइ चेन’का अनुसन्धानकर्ता एनी टुबुलिक भन्छिन्, “विश्वका विभिन्न स्थानमा खडेरी, चक्रवात, बाढी तथा चरम मौसमी बदलावका कारण मसला उत्पादनको क्षेत्रमा चुनौती थपिएको छ।’
यसले भारतीय ग्रामीण मसला उत्पादनलाई मात्र होइन, आपूर्ति र आम्दानीमा समेत प्रभाव पारिरहेको छ। नाइट्रोजनको अत्यधिक प्रयोग, सिँचाइको अभाव तथा पराग सेचन गर्न मद्दत गर्ने कीराहरुको कमी आदिले यसै पनि कृषकहरु समस्यामा छन्।
भारत बाहिर माडागास्करको भानिला उत्पादनमा पनि यस्तै समस्या आएको छ। प्राकृतिक भानिला संसारकै महँगा मसलामध्येको एक हो। राम्रो गुणस्तरको भानिलाको मूल्य सन् २०१८ मा प्रतिकिलो ६०० अमेरिकी डलर थियो, जुन चाँदीभन्दा पनि महँगो हो।
माडागास्करमा सन् २०१७ को चक्रवातले भानिला खेतीलाई ठूलो नोक्सान पुर्याएको थियो। माडागस्करको प्रतिकूल मौसमका कारण यसको उत्पादनमा कमी आउन थालेपछि यो झनै महँगो भएको छ।
अहिले संसारमै मसला उद्योगहरुको संख्या बढ्दै गएको छ। त्यसैले अब मसलाको माग स्वादिलो भोजनका लागि मात्र नभई अन्य प्रयोजनका लागि पनि भइरहेको बुझिन्छ। युरोप र उत्तर अमेरिकामा मसलाको उपभोगमा नयाँ आनिबानी विकसित भइरहेका छन्।
‘पश्चिमी समाजमा स्वस्थ आहार र स्वस्थ जीवनचर्याप्रति साँच्चिकै रुची देखिन्छ,’ तुबुलिक भन्छिन्, ‘बेलायतजस्ता मुलुकहरुमा स्वास्थ्यवर्धक खाद्य सामग्रीका रुपमा पनि मसलाको उपभोग बढ्दो छ।’
बेसारलाई एउटा उदाहरण मान्न सकिन्छ। केही अध्ययनका अनुसार स्वास्थ्यका लागि बेसार निकै फाइदाजनक हुन्छ तर, अन्य केही खोजमा भने यसको अति प्रयोग वर्जित पनि मानिएको छ।
भारतबाट आयात गरिएका बेसारलगायतका उत्पादन बेलायतमा बेच्दै आएकी लुसी बी नामक सौन्दर्य प्रशाधन सामग्री विक्रेता लुसी बकिङ्घम भन्छिन्, ‘यो एकदमै लोकप्रिय उत्पादन हो। मानिसहरु यसको प्रयोग खानामा र तातो पेय पदार्थमा गरिरहेका छन्।’
तर, पछिल्लो समय यसको माग अत्यधिक हुनुमा खानाको प्रयोजन मात्रै होइन। बकिङ्घमका अनुसार जोर्नीको समस्या भएका मानिसहरुले बेसारलाई औषधिका रुपमा प्रयोग गरिरहेका छन्। त्यस्तै बेसारलाई दुखाइ कम गर्ने र संक्रमण फैलिनबाट रोक्ने मल्हमका रुपमा पनि प्रयोग गर्न थालिएको छ।
समग्रमा युरोपमा बेसारको बिक्री सरदर वार्षिक ६ प्रतिशतका दरले वृद्धि भइरहेको छ ।
मिसावट र ठगी
क्विन्स विश्वविद्यालय बेल्फास्टको इन्स्टिच्यूट फर ग्लोबल फुड सेक्युरिटीका अनुसन्धानकर्ता क्रिश इलियट भन्छन्, ‘मसला महँगोमा बिक्री हुनुको कारण यिनलाई खाद्यप दार्थको मूल्यवान तत्वका रुप लिइन्छ। उच्च मूल्यकै कारण यसमा उत्तिकै ठगी पनि हुने गर्छ।’
यस्तो ठगीमध्ये सबैभन्दा बढी हुने भनेको मिसावट र अखाद्य रंगको प्रयोग नै हो । इलियट भन्छन्, ‘कम मूल्य या मूल्यहीन वस्तुको मिसावटले मसलाको मात्रामा २० देखि ३० प्रतिशतसम्म बढाएको पाइएको छ।’
अर्को ठगीचाहिँ मसलालाई आकर्षक देखाउन त्यसमा बुट्टा भर्ने, विभिन्न रंगहरु मिसाउने हो । हरेक वर्ष पाप्रिका र केशर जस्ता बहुमूल्य मसलाहरुलाई सुडान–१ र पारा रेड जस्ता अवैध खाद्य पदार्थले रंगाएको पाइन्छ।
इलियट थप्छन्, ‘मसला उद्योगमा कतिसम्म ठगी हुन्छ, ठ्याक्कै भन्न गाह्रै छ ।’ तर, उनको टिमले ओरेगानो जस्तो मूल्यवान जडिबुटीबारे अध्ययन गर्दा ४० प्रतिसतसम्म मसला नक्कली पाइएको थियो।
तर, अवस्था सधैं यस्तै रहन्छ भन्ने होइन । इन्फ्रारेड स्पेक्ट्रोस्कोपी नामक उपकरणको प्रयोगबाट मसलामा भएको मिसावट ठ्याक्कै पत्ता लगाउन सकिने भएको छ । यो उपकरणमा हरेक मसलाको आफ्नै ‘मोलिक्युलर फिङ्गरप्रिन्ट’ जडान गर्न सकिन्छ, जसले मसलामा भएको मिसावट र ठगीलाई सजिलै पत्ता लगाउँछ।
तर, परम्परागत तरिकाले पसलबाट नमुना संकलन गरी प्रयोगशालामा पठाउन र प्रयोगशालाबाट परीक्षणको नतिजा प्राप्त गर्न झण्डै दुई साताको समय लाग्छ । ‘आपूर्ति प्रणालीमा दुई हप्ता भनेको सम्बन्धित वस्तु उपभोक्ताले उपभोग गरिसक्ने समय हो । त्यतिन्जेलसम्म त मसला ५६ मुलुकमा पुगिसकेको हुन्छ,’ इलियट भन्छन् ।
इलियट र उनको समूह अहिले स्मार्टफोनमा जडान गर्न सकिने स्क्यानरबाटै मसलामा भएको मिसावट पत्ता लगाउने प्रविधि विकास गरिरहेका छन् । यसबाट कुनै पनि मसलाको धुलोलाई ‘स्क्यान’ गर्दा शुद्ध भए हरियो र मिसावट भए रातो बत्ती बल्छ।
मसलाको कथाले वैश्वीकरणको इतिहास कहन्छ। नियन्त्रित स्रोतदेखि विश्वलाई जोड्ने मार्गको विकास गराएको मसला सजिलै नपाइने ठाउँ अहिले कतै छैन।
मसला सांस्कृतिक वैश्वीकरणको प्रतीक पनि हो। कुनै बेला युरोपमा अनौठो र बहुमूल्य मानिने मसला अहिले दैनिक जीवनको सहज आवश्यकता बनेको छ।
सुरुआती अवस्थामा हत्याहिंसा र संघर्षसँग जोडिएको मसला व्यापारले उपनिवेशवादको सुरुआतसम्म गरायो। फ्रिडम्यान भन्छन्, ‘मसलाको स्रोतसम्म पुग्ने सिधा मार्गको खोजीका क्रममा युरोपेलीहरुले कैयौं यात्रा गरे, जुन औपनिवेशक विजयमा रुपान्तरण भयो।’
इतिहासमा ठूलै उथलपुथल ल्याएको मसला व्यापारको भविष्य पनि उति सहजचाहिँ देखिँदैन। मसला उत्पादनका लागि जलवायु परिवर्तनप्रति अनुकूल र संवेदशील बन्नु जरुरी छ ।
मध्ययुगमा ठूलै कोकोहोलो मच्चाएको मसलाको माग अझै बढ्नेछ किनभने भोजन, स्वास्थ्य र कल्याणमा यसको उपयोगका नयाँनयाँ तरिकाहरु विकसित भइरहेका छन् ।
बीबीसी फ्युचरबाट अनूदित