आइतबार, साउन ३१, २०८३

मापसे चेकिङका ८ वर्ष : कारबाहीमा पर्ने महिला नगण्य

ट्राफिक प्रहरीले बेला बेलामा चलाउने अभियानमध्ये सबैभन्दा प्रभावकारी र लामो समय निरन्तरता पाएको अभियान हो, मापसे चेकिङ ।
 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

काठमाडौं– ८ वर्षअघि २०६८ मंसिरमा ट्राफिक प्रहरीले मापसे (मादक पदार्थ सेवन) गरी सवारीसाधन चलाउने चालकविरुद्धको कारबाही थाल्दा फाट्टफुट्ट महिला चालक कारबाहीमा पर्थे ।

अभियान सुरु भएको पहिलो वर्ष मंसिरदेखि असार मसान्तसम्ममा १७८ जना महिला मापसे कारबाहीमा परे। सोही अवधिमा कारबाहीमा पर्ने पुरुषको संख्या भने ३९ हजार ४८० थियो।

पुरुषको तुलनामा मापसे गरेर सवारी चलाउने महिलाको संख्या नगण्य जस्तै देखिए पनि यो प्रहरीको अनुमानभन्दा धेरै थियो। सुरुका दिनमा त महिला मापसे कारबाहीमा परेको देख्दा ट्राफिक प्रहरी नै छक्क पर्थे।

ट्राफिक प्रहरीले बेला बेलामा चलाउने अभियानमध्ये सबैभन्दा प्रभावकारी र लामो समय निरन्तरता पाएको अभियान हो, मापसे चेकिङ ।

रात्रिकालीन व्यवसायी तथा मदिरा व्यवसायीको तीव्र विरोधका बीच यो अभियानले निरन्तरता पाइरहेको छ। बिना कुनै उपकरण मुख सुँघेर अभियान थालेको प्रहरीले अहिले भने ब्रेथलाइजरको प्रयोग गरिरहेको देखिन्छ।

प्रहरीले मापसे चेकिङमा कडाइका साथै विभिन्न चेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । यद्यपि, मापसे कारबाहीमा पर्नेको संख्या भने घट्नुको साटो बढ्दो क्रममै छ । चाखलाग्दो चाहिँ के छ भने कारबाहीमा पर्ने पुरुषको संख्या उकालो लागिरहँदा महिलाको संख्या भने घटबढ छ ।

वर्ष २०६९–०७० मा ५१ हार ९ सय ९३ पुरुष चालक मापसे कारबाहीमा पर्दा महिलाको संख्या २८७ थियो । वर्ष ०७०–०७१ मा ५४ हजार १६० पुरुष र ३७५ महिला कारबाहीमा परे । त्यसैगरी वर्ष ०७१–०७२ मा ३५ हजार ७५६ पुरुष र ३०९ महिला, ०७२–०७३ मा २८ हजार ९८८ पुरुष र २३४ महिला, ०७३–०७४ मा २८ हजार ७९९ पुरुष र ९७ महिला, ०७४–०७५ मा ३२ हजार २३४ पुरुष र ५८ महिला र वर्ष ०७५–०७६ मा ३१ हजार ९८७ पुरुष र २७० महिला मापसे कारबाहीमा परेको ट्राफिक प्रहरी महाशाखाको तथ्यांक छ ।

चालू आवको पहिलो चार महिना (साउन–कात्तिक) मा १० हजार २२० पुरुष चालक मापसे कारबाहीमा परिसकेका छन् । महिलाको संख्या भने ९८ मात्र छ ।

मापसे परीक्षण अभियानको आठ वर्षमा ३ लाख १३ हजार ३१७ पुरुष र १ हजार ९१७ महिला कारबाहीमा परेका छन् ।

प्रहरीका अनुसार मापसे कारबाहीमा पर्ने महिलामध्ये अधिकांश युवा अवस्थाका छन्। ‘मापसे गरेर सवारी चलाउने पुरुषको तुलनामा महिलाको संख्या नगण्य हो, तर मदिरा संस्कृतिले महिलालाई पनि गाँज्दैछ भन्ने संकेत चाहिँ यसले गर्छ,’ महानगरीय ट्राफिक महाशाखाका प्रहरी उपरीक्षक रविकुमार पौडेल भन्छ्न्, ‘नेपाली समाजमा रमाइलो गर्ने प्रचलन बढेसँगै महिला पनि रेष्टुरेन्ट, डिस्कोमा जाने र मापसे गर्ने संस्कार बढ्दो क्रममा छ।’

प्रहरीका अनुसार मापसे कारबाहीमा पर्ने महिलामध्ये अधिकांश युवा अवस्थाका छन्। यसले नयाँ पुस्ताका महिलाहरु पुरुष सरह समाजमा खुल्न थालेको बुझाइ प्रहरीको छ।

कतिपय महिलाले भने चेकिङबाट उम्किन सकिन्छ भन्ने आत्मविश्वासका साथ मापसे गरेर सवारी चलाउने गरेको अनुभव चेकिङमा खटिने प्रहरीको छ । ‘महिलाहरु अलि बढी गलफत्ती गर्छन्। इमोसनल ब्लाकमेलिङ गर्न खोज्छन्, लाइसेन्समा प्वाल नपारीदिन रिक्वेस्ट गर्छन्,’ एक ट्राफिक हवलदारले अनुभव सुनाए, ‘तर, हामी कसैलाई छाड्दैनौं । महिला हुन् वा पुरुष, मापसेको मामलामा हामी निर्मम छौं।’

मापसे गरेर सवारी हाँक्ने महिलाको सुरक्षाको चिन्ता पनि काठमाडौंका ट्राफिकलाई हुन्छ। ‘मापसे गरेको थाहा पाएपछि सवारी चलाउन दिने कुरै भएन,’ प्रहरी उपरीक्षक पौडेल भन्छन्, ‘उनीहरुलाई सुरक्षित घर कसरी पु¥याउने भन्ने अर्को चिन्ता पनि हुन्छ।’ मापसे गरेर सवारी हाँक्न हिम्मत गर्ने महिलाको संख्या सानो भए पनि यसले सहरी समाजका महिलाको सोच, चेतना र आधुनिकतालाई मापन गर्न सहयोग गर्ने पौडेल बताउँछन्।

मापसे गरेर सवारी हाँक्नेहरु सबैभन्दा धेरै भेटिने दरबारमार्गमा हो। दरबारमार्ग क्षेत्रमा पब, क्लब, डिस्कोथेक तथा राति अबेरसम्म खुल्ने रेष्टुरेन्ट धेरै भएकाले सोही क्षेत्रमा मापसेमा कारबाहीमा धेरै पर्ने प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार रातिको समयमा हुने अधिकांश सवारी दुर्घटना मापसेका कारणले हुने गर्छ। मापसे चेकिङकै कारण पछिल्लो समय सवारी दुर्घटनामा निकै कमी आएको पौडेल बताउँछन्।

मापसे चेकिङ सुरु भएपछि राजधानीका अस्पतालमा सवारी दुर्घटनाबाट आउने घाइतेहरुको संख्या ८५ प्रतिशत भन्दा बढीले कमी आएको अस्पतालको तथ्यांकले देखाएको उनले जानकारी दिए।

ट्राफिक प्रहरी महाशाखाले मापसे कारबाहीमा पर्ने सवारी चालकको लाइसेन्समा प्वाल पार्ने र एक हजार रुपैयाँ जरिवाना तिराएर एक घण्टा ट्राफिक सचेतना कक्षा दिने गर्दछ।

मापसेले झुटो आत्मविश्वास बढाउँछ

डा. प्रकाश बुढाथोकी
सिनियर कन्सल्ट्यान्ट, वीर अस्पताल

मादक पदार्थ सेवनले चालकमा झुटो आत्मविश्वास बढाउँछ र चालकलाई आवेशयुक्त बनाउँछ।

सवारीसाधन चलाउँदा मांसपेशी र सोच्ने प्रणालीबीच हुनुपर्ने समन्वयमा असर पार्छ। आवश्यकता र अवस्थाअनुसार शरीरमा स्वचालित रुपमा हुनुपर्ने ‘रिफ्लेक्स अफ एक्सन’मा ढिलाइ हुन्छ।

त्यसैगरी मापसेले ‘फिल्ड अफ भिजन’ साँघुरो हुन जान्छ। साथै रङ छुट्याउने क्षमतामा कमी आउनुका साथै वस्तुलाई केन्द्रित गरी हेर्ने क्षमता पनि घट्छ।

मापसे गरेर सवारी चलाउँदा सवारीको गति र दूरीअनुसार समय अड्कल गर्नसक्ने क्षमतामा कमी आउँछ। धेरै गतिमा जाँदा पनि कम गतिमा गएको अनुभव हुने र थप तीव्र गतिमा चलाउने सम्भावना हुन्छ। साथै अर्को सवारीको गति ठम्याउन पनि गाह्रो हुन्छ।

थोरै पिउँदा असर थोरै नै हुन्छ तर पनि पिएर सवारी चलाउँदै नचलाउनु नै सबैभन्दा राम्रो।

प्रकाशित: Nov 24, 2019| 07:55 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।