काठमाडौं । नेपाल र भारतका अधिकारीहरु सम्मिलित समन्वय बैठक पोखरामा सकिएको छ । गएको साता तीन दिन चलेको बैठकमा नेपालको
तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरु तथा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय,
नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृतहरुको सहभागिता रहेको थियो ।
बैठकमा भारतको तर्फबाट सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्रको नेतृत्वमा ६ सदस्यीय टोलीको सहभागिता रहेको थियो । नेपाल र भारतको सुरक्षा प्रमुख तहमा द्विपक्षीय वार्ता भएको यो चौथो अवसर हो । दुई देशका सुरक्षा प्रमुख स्तरमा हुने यस्ता समन्वय बैठकले दुवै देशका सुरक्षा निकायबीच सम्बन्ध विस्तार हुन मद्दत पुग्नुको साथै प्रभावकारी सुरक्षा व्यवस्था एवं सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि यस्ता समन्वय बैठक फलदायी हुने विश्वास सशस्त्र प्रहरीको छ ।
उक्त बैठकमा सीमावर्ती अपराध नियन्त्रणमा आपसी सहयोग अपरिहार्य रहेकोले आवश्यक सहयोग आदान प्रदान गर्ने निर्णय भएको बताइएको छ । यसैगरी सूचना आदानप्रदान गर्ने र यसका लागि विभिन्न तहमा विभिन्न समयमा आवश्यकता अनुसार दुवै देशका सुरक्षा अधिकारीहरु सम्मीलित बैठकको आयोजना गर्ने निर्णय समेत भएको छ ।
सीमा व्यवस्थापनलाई मजवुद बनाई राख्न आवश्यकता अनुरुप संयुक्त अभ्यास गरिने सहमति भएको सो बैठकमा दुवै देशले आपसी समन्वयको लागि ‘नोडल अफिसर’ तोकिँदै आएकोमा सो कार्यलाई निरन्तरता दिइने निर्णय भएको छ ।