काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुसी महासङ्घको राजधानी मस्को प्रस्थान गरेका छन् ।
शनिबार त्यसतर्फ उडेका परराष्ट्रमन्त्री ज्ञवाली आइतबार (आज) मस्को पुग्ने कार्यक्रम छ । उनले सोमबार समकक्षी सेर्गेई लाभरोभसँग द्विपक्षीय वार्ता गर्नेछन् ।
वार्ताको क्रममा उनले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्ता दिने कार्यक्रम छ । राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट पठाइएको औपचारिक भ्रमणको निमन्त्रणापत्र समकक्षीलाई हस्तान्तरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले मंगलबार मस्कोमा इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्सद्वारा आयोजित कार्यक्रममा नेपाल रुस सम्बन्ध तथा सहकार्यबारे सम्बोधन गर्नेछन् ।
परराष्ट्रमन्त्री ज्ञवाली बुधबार मस्कोबाट सर्बियाको राजधानी बेलग्रेड भ्रमणमा जानेछन् ।
उनका साथ परराष्ट्रसचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छन् ।