काठमाडौं- कालानीका विषयमा वार्ता गर्न नेपाल सरकारले भारतलाई औपचारिक पत्र पठाएको छ ।
कालापानी क्षेत्र फिर्ता ल्याउनका लागि सरकारले कूटनीतिक पहल गरेन भन्ने आरोप लागि राखेका बेला परराष्ट्र मन्त्रालयले वार्ताका लागि यसै साता भारतलाई पत्र पठाएको हो ।
लिम्पियाधुरादेखि लिपुलेकसम्को क्षेत्रलाई समेटेर भारतले जारी गरेको नक्साप्रति असहमति जनाउँदै नेपालले वार्ताका आग्रह गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । पत्रमा पुस पहिलो साताको मिति र वार्तास्थल काठमाडौंसमेत प्रस्ताव गरिएको जनाइएको छ ।
नेपालले पठाएको पत्रको भारतीय पक्षबाट कुनै जवाफ आएको छैन्। जवाफपछि वार्ताको तयारी थाल्ने गरि परराष्ट्र मन्त्रालय तयारी गरेको छ ।
वार्ताको प्रयास भइरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि बताएका थिए ।
बिहीबार नारायणहिटीमा आयोजित एक कार्यक्रमपछि पत्रकारमाझ परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँग वार्ताको प्रयास भइरहेको बताएका हुन् ।
भारतले नेपाली भूमिसमेत समेटेर नयाँ नक्सा जारी गरेसँगै त्यसको नेपालमा चर्को विरोध भएको थियो । नेपाल सरकारले पनि नक्सा स्विकार्न नसकिने बताउँदै आएको थियो तर, कूटनीतिक प्रयास भने भएको थिएन् ।
भारतीय गृह मन्त्रालयले १६ कात्तिकमा सार्वजनिक गरेको नक्सामा नेपालको कालापानीलाई आफ्नो मानचित्रमा राखेको थियो । सरकारले २० कात्तिकमा विज्ञप्तिमार्फत नेपालको कालापानीलाई भारतीय नक्सामा राख्ने निर्णय मान्य नभएको स्पष्ट पारेको थियो ।