धनगढी- नेपालसँग सिमाना जोडिएका अधिकांश भारतीय बजारहरु नेपाली ग्राहकको पहिलो रोजाईमा छन्।
कोही बाध्यताले भारतीय बजारको प्रयोग गर्छन् भने कोही सस्तो सामान पाईने भन्दै किनमेलका लागि भारतीय बजार धाउँछन्। तर कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १० मा पर्ने नेपाली ब्रह्मदेब बजार भने भारतीय ग्राहकका कारण चलेको छ।
भारतको टनकपुरबाट बढिजसो ग्राहक ब्रह्मदेव बजारमा किनमेलका लागि आउने गरेका छन्। भारतीय ग्राहक कपडा खरिदका लागि बढीजसो सो बजारमा पुग्ने गरेको ब्यापारीहरु बताउँछन्।
ब्रह्मदेवमा रहेको शिद्धनाथ मन्दिरको मेलामा दर्शनका लागि सबैभन्दा बढी भारतीय नागरिकनै आउने गरेका छन्। सो मेला र अन्य लुगाको सिजनमा राम्रै ब्यापार हुने गरेको व्यापारीले बताए।
९५ प्रतिशत भारतीय नागरिकनै सो बजारमा किनमेलका लागि आउने व्यापारी करन बहादुर चन्दले बताए। भारतीय नागरिकले ब्रह्मदेव बजारमा आएर चाइनिज कपडा बढी माग गर्ने गरेको उनको भनाइ छ।
भारतीय ग्राहक नेपाली बजारमा आउँदा व्यापार पनि राम्रै भएको छ। भारतमा नपाइने समानका लागि भारतीय ग्राहक नेपाली बजारमा पुग्ने गरेका हुन्। नेपाली बजारमा आएर खरिद गरेका अधिकांश कपडाहरु चीनमा उत्पादन भएका कपडा हुन्।
भारतीय ग्राहक पनि ब्रह्मदेव बजारमा आएर किनमेल गर्न पाउँदा निकै खुशी छन्। भारतको टनकपुरबाट किनमेलका लागि ब्रह्मदेव पुगेका अशिफले किनमेलसँगै विभिन्न ठाउँको अबलोकन गर्न पाउँदा खुसी लागेको बताए।
उनले नेपालमा आएर किनमेलसँगै घुमघाम गर्न आउँदा आफूलाई कुनै समस्या नभएको बताए।
भारतीय उपभोक्ताबाट चलेको सो बजारमा बाह्रै महिना एकनासको ब्यापार नभए पनि चिसोको सिजनमा राम्रै ब्यापार हुने गरेको छ। बिगतको तुलनामा बजार बढ्दै गएपछि प्रतिस्पर्धा पनि निकै बढेको छ।
बिगतमा दुईतीन वटा पसलबाट शुरु गरिएको बजारमा हाल करिब एक सय पसल सञ्चालनमा छन्। त्यसमा अधिकांश कपडा पसल नै सञ्चालित छन्।
कपडा खरिद गर्न आउने र मन्दिरमा पुजाका लागि आउनेका लागि होटेलहरु पनि सञ्चालनमा छन्।
