भैरहवा- कृषि तथा पशुपंक्षीमन्त्री घनश्याम भुसालले किसानले सहजै मलखाद पाउने व्यवस्था गर्न लागेको बताएका छन्।
लुम्बिनी प्रेस क्लब, भैरहवाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
पत्रकारले सोधेको प्रश्नमा उनले सरकारको नीति तथा कार्यक्रम अनुसार नै काम गर्ने बताए। उनले भने, “म सरकारको बजेट, नीति तथा कार्यक्रम लागू भएको चार महिनापछि मन्त्री नियुक्त भएको छु। यहाँ धेरै ‘ठूला’ कुरा गर्नु व्यवहारिक हुँदैन। सरकारको नीति तथा कार्यक्रमले जुन परिणाम खोजेको र लक्ष्य राखेको छ, त्यसप्रति बफादार भएर काम गर्नेछु।”
मुलुकको समृद्धिका परम्परागत कृषि प्रणालीलाई तत्काल उद्योगमा रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ।
२०३६ सालदेखि कृषि मन्त्रालयमा समस्या देखिएको बताउँदै उनले भने, “मन्त्रालयमा धेरै समस्या छन् । यी सबैको समाधानका लागि मन्त्रालयहरूबीच सहयोग र सहकार्य जरुरी छ।”
मन्त्री नियुक्त भएपछि उनी पहिलो पटक गृह जिल्ला रूपन्देही आएका हुन्।
उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार कृषि तथा पशुपंक्षीमन्त्री नियुक्त गरेका थिए।