जनकपुरधाम– आगामी मंसिर १४ हुन लागेको उपनिर्वाचनअन्तर्गत महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ।
उपनिर्वाचनको समय नजिकिँदा पिपरामा यसको सरगर्मी बढेको छ। उम्मेदवारले प्रचार–प्रसार र घरदैलो कार्यक्रम तीव्र बनाएका छन्। उनीहरू मतदाताका घर–घर पुगेर मत मागिरहेका छन्।
पिपरा गाउँपालिकामा राजपाले यसअघिका अध्यक्ष विनोदकी पत्नी रवितालाई उम्मेदवार बनाएको छ। यस्तै, नेपाली कांग्रेसले विजयकुमार यादव, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विक्रम यादव, समाजवादी पार्टीले रामजानकी यादव, सीके राउत नेतृत्वको जनमत पार्टीले रञ्जु मण्डल र राप्रपाले सुनिल ठाकुरलाई चुनावी मैदानमा उतारेको छ।
शीर्ष नेता मतदाता रिझाउन लागिपरेका छन्। पिपरामा आमसभालगायत अन्य कार्यक्रममा जान शीर्ष नेताको होड चलेको छ।
नेपाली कांग्रेसले गत बुधबार पिपरामा आमसभा आयोजना गर्यो। आमसभामा उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य कल्याण गुरुङ, फरमुल्ला मंसुर, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका नेता सहभागी भए।
आमसभामा कांग्रेस नेताले सत्तासीन नेकपा र मधेसकेन्द्रीत दलले कसैको भलो नगर्ने भन्दै आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन अपिल गरे।
आभसभापछि उपसभापति निधिले गाउँपालिकाका विभिन्न वडा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका थिए।
समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि आफ्नो पार्टीको आमसभामा सहभागी भए।
उनले पनि गाउँपालिकाको समग्र विकासका लागि समाजवादी पार्टीले मात्र भलो गर्न सक्ने भन्दै आफ्नो पार्टीका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गरे।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त मनोनयन दर्ता हुनुपूर्व पिपरा पुगेर फर्किसकेका छन्। तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान नाम दिइए पनि चुनावीसभा नै बनेको थियो त्यो कार्यक्रम।
अध्यक्ष प्रचण्डले जनकपुर-पिपरा-जलेश्वर सडकखण्ड तत्काल निर्माण नगरिए त्यहाँ पुगेर धर्ना बस्ने उद्घोष गर्दै उपनिर्वाचनमा नेकपाका उम्मेदवारलाई निर्वाचित गराउन मतदातालाई अपिल गरेका थिए।
शनिबार राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर पिपरा पुग्दैछन्। पिपरा ठाकुरकै निर्वाचन क्षेत्रभित्र पर्ने गाउँपालिका हो। राजपा अध्यक्षमण्डलका सदस्य ठाकुर पिपरा पुगेर चुनावीसभामै भाग लिनुका साथै मतदातालाई भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।
शीर्ष नेताको ओइरो लागे पनि पिपरा उपनिर्वाचनमा जातीय समीकरणले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने स्थानीय बताउँछन्। पछिल्लो निर्वाचनमा जातीय मतले प्रभाव पारेको उनीहरूको भनाइ छ। यद्यपि उम्मेदवारहरू भने जातीय आधारमा मतदान हुने कुरा स्वीकार गर्दैनन्। क्षमता र जनताप्रतिको उत्तरदायित्वको हिसाबले मतदाताले मतदान गर्ने उम्मेदवारको दाबी छ।
अध्यक्ष विनोद चौधरीको निधन भएपछि पिपरामा उपनिर्वाचन हुन लागेको हो।