डोटी- दसैं-तिहारमा चहलपहल देखिएका सुदूरपश्चिमका गाउँ सुनसान बन्दै गएका छन्।
दसैं-तिहार मनाउन घर फर्किएकाहरू काममा फर्कन थालेपछि सुदूरपश्चिमको पहाडी जिल्लाका गाउँ सुनसान बनेका हुन्।
चाडवाड सकिएसँगै ग्रामीण बस्तीमा चहलपहल घटेको डोटी, जोरायल गाउँपालिकाका स्थानीय तथा शिक्षक निर्मल रावतले बताए। उनले भने, “चाडवाडमा घरबाहिर रहेकाहरू गाउँ फर्किएकाले गाउँघरमा रमाइलो थियो।”
गाउँ छाड्ने बढेसँगै सवारीसाधनमा यात्रुको चापसमेत बढेको छ। शैलेश्वरी यातायातका रुटपरमिट इन्चार्ज प्रेम रावल जागिर र पढाइका लागि जिल्ला छाड्नेहरू बढेकाले सवारीसाधनमा यात्रुको चाप बढेको बताउँछन् । उनले भने, “सवारीसाधनमा यात्रु भरिभराउ छन् । हामीसँग पर्याप्त सवारीसाधन नहुँदा समस्या छ।”
जिल्ला बाहिर फर्किने बढेकाले डोटीबाट बाहिरी जिल्लाका लागि गाडी पाउन सकस हुने गरेको यात्रु बताउँछन्।
यहाँका कतिपय गाउँबस्ती युवाविहीन भएका छन्। ती गाउँमा महिला, बालबालिका तथा वृद्ध मात्रै छन्। गाउँमा युवा नहुँदा मलामी जाने मान्छे पनि नहुने अवस्था देखिएको केआइसिंह गाउँपालिकाका स्थानीय चेतराज भट्टले बताए।