धनगढी । महमा अखाद्य पदार्थ मिसाएर बिक्री गर्ने चार जनालाई कञ्चनपुर प्रहरीले प्रक्राउ गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–५ वनखेतबाट चार जना भारतीयलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश अम्बेदकर नगर सिजौलियाका ४० वर्षीय मोहम्मद सेन, २० वर्षीय रञ्जन खान, ३० वर्षीय चाँदबाबु खान र ४० वर्षीय अमिर खान छन्। उनीहरुले महमा चिनी, मैन, दालचिनीको पातलगायतका पदार्थको मिश्रण गरी बेचेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उनीहरुको साथबाट ८० डिव्वामा मिसावट भएको महसमेत प्रहरीले बरामद गरेको छ। पक्राउ परेका चारै जना जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाइएको छ।