काठमाडौं - मधेशलाई आधार बनाएर राजनीति गरिरहेका दुईवटा दल संघीय संसदमा छन् - राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी। त्यसबाहेक पश्चिम मधेशमा केही जनआधार भएको हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहको पनि प्रतिनिधित्व छ संसदमा।
स्वतन्त्र राजनीतिक समूहबाट अध्यक्ष त्रिपाठी र बृजेश गुप्ता प्रतिनिधिसभामा छन्। राजपाबाट बाहिरिएका दुवैजना नेकपाको चुनाव चिन्ह लिएर चुनाव जितेका हुन्।
वर्तमान सरकारमा उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वको संघीय समाजवादी पार्टी उपप्रधानमन्त्रीसहित दुईवटा मन्त्रालय पाएर सरकारमा छ। राजपाले भने यसअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।
संघीय समाजवादीले पटकपटक सरकार छाड्ने धम्की दिँदै, सरकारकै विरोध गर्दै सरकारमा बसिरहेको छ। पछिल्लो समय प्रधानमन्त्री ओलीले नै समाजवादीलाई सरकारबाट बाहिर पठाउन खोजेकोजस्तो देखिन्छ। मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपेन्द्र यादवलाई कानुन मन्त्रालयमा सार्नुले पनि त्यसको पुष्टि हुने समाजवादीकै नेताहरु बताउँछन्।
केही समयअघि सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्दा पनि समाजवादीको भागमा कोही परेनन्। समाजवादीको कोटाबाट प्रदेश प्रमुख भएका रत्नेश्वरलाल कायस्थलाई बिनाछलफल हटाएपछि समाजवादीभित्र बढेको सरकारप्रतिको असन्तुष्टि उपेन्द्र यादवको ‘घटुवा’ प्रकरणले चुलिएको छ।
समाजवादी पार्टीबाट सांसद एवं पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारको निलम्बन फुकुवा नगरिएकोमा पनि समाजवादी सरकारसँग रुष्ट छ।
सरकारमा मधेश केन्द्रित शक्ति टाढिएको अवस्थामा नराम्रो प्रभाव पर्ने भन्दै मन्त्रिमण्डल पुनर्गठनमा हृदयेश त्रिपाठीलाई ल्याएर ‘ब्यालेन्स’ गरिएको छ। यसअघि पनि त्रिपाठीको समूहलाई नेकपामा भित्र्याएर त्रिपाठीलाई नेकपाको सचिवालय सदस्य र गुप्तालाई मन्त्री दिने प्रस्ताव गरिएको थियो। तर, अन्तिम समयमा उपेन्द्र यादव सरकारमा सहभागी भएपछि यो समूहको नेकपा प्रवेश रोकिएको थियो।
त्यसो त गोकर्ण विष्टलाई हटाएर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ल्याइएका रामेश्वर राय यादव पनि मधेशबाटै प्रतिनिधित्व गर्छन्। सद्भावना पार्टीका संस्थापकमध्येका एक यादव स्थानीय तहको निर्वाचनताका माओवादीमा प्रवेश गरेका थिए।
अहिले उपेन्द्र यादवलाई सरकारबाट हटाउने मनशाय बनाएका प्रधानमन्त्री ओलीले डेढ वर्षअघिको सहमतिलाई अगाडि सार्दै त्रिपाठीलाई सरकारमा लगेका हुन्। यद्यपि यही समूहका अर्का सांसद बृजेश गुप्ता भने नेकपा प्रवेश गर्ने मनशायले आफूहरु सरकारमा नगएको बताउँछन्।
गुप्ता भन्छन्, “हामी नेकपामा प्रवेश गर्ने सहमतिमा सरकारमा गएका होइनौं। त्यो पछि छलफलको विषय हुन सक्छ। अहिले हामी स्वतन्त्र समूह नै चलाउँदैछौं।”
प्रधानमन्त्री ओलीले पश्चिम मधेशमा पकड बनाएको यो समूहलाई सरकारमा ल्याएपछि पाँच नम्बर प्रदेशमा नेकपालाई थप बलियो बनाउन सहज हुने देखिन्छ।
समाजवादीभित्र सरकार छाड्ने वा सरकारमै बसेर संविधान संशोधनको पहल गर्ने भन्ने दुई धार छ। पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम सरकार तत्काल छाड्नुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव सरकार छाड्ने मनशायमा छैनन्।
मन्त्रिपरिषद् पुनर्गठन हुनु अघिसम्म पार्टीभित्र सरकार छोड्नुपर्ने पक्षमा तीव्र दबाब भए पनि अध्यक्ष यादव पक्षधर सरकारबाट बाहिरिन चाहेको थिएन।
मन्त्रिपरिषद् पुनर्गठन भएको भोलिपल्टै पनि भट्टराईले गृहजिल्ला गोरखामा सरकार नछोडेकै कारण राजपासँगको एकीकरण पनि रोकिएको संकेत गर्दै असन्तुष्टि व्यक्त गरेका थिए।
अहिले समाजवादी पार्टीका नेताहरु भारत भ्रमणमा गएका अध्यक्ष उपेन्द्र यादवको निर्णय कुरिरहेका छन्।
पार्टी कोषाध्यक्ष विजय यादव भन्छन्, “सरकारमा रहने कि नरहने विषयमा राष्ट्रिय परिषद् र केन्द्रीय समितिले पदाधिकारीलाई जिम्मेवारी दिएको छ। पदाधिकारीले निर्णय लिने हो।”
समाजवादीका अध्यक्ष उपेन्द्र यादव शुक्रबार (आज) काठमाडौं फर्किने तयारीमा छन्। आजै साँझ पदाधिकारी बैठक बस्ने बुझिएको छ।