आइतबार, साउन ३१, २०८३

यस्ता छन् ओली सरकारका ६ नयाँ सारथी

नयाँ मन्त्रीका रुपमा भित्रिएका पात्रमध्ये अधिकांश पहिला पनि मन्त्री भएकाहरु छन् । जसको प्रदर्शन औसत थियो । काम गर्न सकेनन् भनेर फालिएका मन्त्री भन्दा ...
 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

काठमाडौं- लामो समयको रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीमण्डल पुनर्गठन गरे । मन्त्रिपरिषदमा ६ जना मन्त्री  थपिएका छन् ।

६ जनामध्ये दुई जनाको सिंहदरवार यात्रा पहिलो हो भने बाँकी चारजना यसअघि पनि मन्त्री भइसकेका राजनीतिज्ञ हुन् ।

कुन मन्त्री कस्ता ?

हृदयेश त्रिपाठी (संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री)

बहुदलको आगमनसँगै नेपाल सद्भावना पार्टीबाट राजनीतिमा देखिएका त्रिपाठी पटकपटक सांसद भएका छन् भने ४ पटक मन्त्री बनेका छन् । यसअघि २०५४ मा वनमन्त्री, २०६३ मा उद्योग, वाणिज्य तथा आपूर्ति र २०६८ मा भौतिक योजना मन्त्री बनेका थिए उनी ।

तीन पटक मन्त्री भए पनि उनको कार्यकालमा सम्झन लायक खासै काम भएका छैनन् । सद्भावना, तमलोपा हुँदै अहिले नेकपा निकट पुगेका त्रिपाठी २०७४ को चुनावमा नवलपरासी–५ बाट तत्कालीन नेकपा एमालेको सूर्य चिन्ह लिएर विजयी भएका थिए ।

मधेश केन्द्रित राजनीतिज्ञका रुपमा आफ्नो पहिचान बनाए पनि त्रिपाठी राजनीतिको शुरुवाती कालमा भने वामपन्थी थिए । ०३० को दशकमा उनी केशरजंग रायमाझी समूहको एउटा हाँगोको कम्युनिस्ट कार्यकर्ता थिए । उनले तत्कालीन विद्यार्थी फेडरेशनमा रहेर पनि काम गरेका थिए।

घनश्याम भुसाल (कृषि तथा पशुपन्छी मन्त्री)

नवनियुक्त मन्त्री भुसाललाई बौद्धिक नेताका रुपमा चिनिन्छ । नेकपामा उनले स्कुल विभाग प्रमुखका दाबेदार थिए तर, ईश्वर पोखरेलले उक्त विभाग हात पारे । मार्क्र्सवादका व्याख्याता भुसालको यो दोस्रो सिंहदरबार यात्रा हो ।

अनेरास्ववियुबाट राजनीतिक यात्रा थालेका भुसाल यसअघि झलनाथ खनाल नेतृत्वको सरकारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने गरी मन्त्री भएका थिए ।

प्रधानमन्त्री ओलीका आलोचकका रूपमा चिनिएका भुसाल २०७४ को प्रतिनिधिसभा चुनावमा तत्कालीन एमालेका तर्फबाट रुपन्देही–३ बाट विजयी भएका हुन् ।

लेखराज भट्ट (उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री)

माओवादी विद्रोहमा शुरुदेखि नै सहभागी भट्ट सुदूरपश्चिमका प्रभावशाली नेता मानिन्छन् । २०७४ सालको प्रतिनिधिसभाको चुनावमा कैलाली क्षेत्र नम्बर–४ बाट विजयी भएका उनको सिंहदरवार यात्रा पहिलो भने होइन ।

उनी यसअघि डा बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्तिमन्त्री थिए भने त्यसअघि पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा श्रममन्त्री बनेका थिए । त्यतिखेरको उनको काम कारबाही औसत थियो ।

रामेश्वर राय यादव (श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री)

तत्कालीन माओवादी केन्द्रबाट सर्लाही–३ को चुनाव जितेका यादव यसअघि तीन पटकसम्म मन्त्री भइसकेका छन् ।

उनी पहिलो पटक २०५२ सालमा कानुनमन्त्री भएका थिए  भने दोस्रो पटक २०५३ सालमा वन मन्त्री भएका थिए । त्यसपछि पनि दुई पटक उनी मन्त्री भएका छन् ।

२०५३ मा यादव वनमन्त्री हुँदा राष्ट्रिय जनता पार्टीका वर्तमान संयोजक राजेन्द्र महतो उनका स्वकीय सचिव थिए । बारम्बार मन्त्री भए पनि उनले उल्लेख्य काम गर्न सकेका छैनन् ।

वसन्तकुमार नेम्वाङ (भौतिक पूर्वाधार तथा यातायातमन्त्री)

नेकपाका पुराना कम्युनिष्ट नेताका रुपमा चिनिन्छन् नवनियुक्त मन्त्री नेम्वाङ । पाँचथर घर भएका नेम्वाङ २०४८ र २०५६ सालमा समेत सांसद भए पनि मन्त्री हुने अवसर भने पहिलो पटक पाएका हुन् ।

पार्वत गुरुङ (महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री)

२०७४ सालको चुनावमा दोलखाबाट निर्वाचित भएका गुरुङको यो पहिलो सिंहदरवार यात्रा हो । यसअघि २०७० सालको दोस्रो संविधानसभा चुनावमा तत्कालीन एमालेबाट विजयी भएका थिए ।

मन्त्री हुनु एक महिनाअघि मात्र गुरुङ कर्तव्य ज्यान उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतमा उपस्थित भई साधारण तारेखमा रिहा भएका थिए ।

स्थानीय तह निर्वाचनमा दोलखाको गौरीशंकर गाउँपालिका– १ मा नेकपा एमालेबाट वडा सदस्य उम्मेदवार कुलबहादुर तामाङको हत्यापछि उत्पन्न विवादबाट भएको झगडामा गुरुङ मुछिएका हुन् । यही मंसिर २४ गते उनको मुद्दाको पेशी छ।

यी ६ मन्त्रीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् । मोतीलाल दुगड (उद्योग, वाणिज्य तथा आपूर्ति) नवराज रावत (स्वास्थ्य तथा जनसंख्या) र रामवीर मानन्धर (सहरी विकास राज्यमन्त्री) थपिएका हुन् ।

प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गरेर पनि औसत व्यक्तिलाई अवसर दिएको वरिष्ठ पत्रकार तथा विश्लेषक हरिहर विरही टिप्पणी गर्छन् । उनी भन्छन्- ‘ओलीले राम्रो अवसर पाएका थिए । तर, सही तरिकाले प्रयोग गर्न सकेनन् । फेरि पनि मन्त्री छान्दा आशा गरिएका पात्रलाई रोजेनन् ।’

नयाँ मन्त्रीका रुपमा भित्रिएका पात्रहरुमध्ये अधिकांश पहिला पनि मन्त्री भएकाहरु छन् । जसको प्रदर्शन औसत थियो । काम गर्न सकेनन् भनेर फालिएका मन्त्री भन्दा खास गतिलो काम गरेको रेकर्ड नयाँ भित्रिएका मन्त्रीको पनि देखिँदैन ।

प्रकाशित: Nov 22, 2019| 05:04 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।