काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई पारदर्शी हुन र पारदर्शी ढंगले काम गर्न निर्देशन दिएका छन्।
मन्त्रिपरिषद्को पुनर्गठनपछि बिहीबार साँझ बसेको सबै मन्त्री तथा मन्त्रालयका सचिवहरुसहितको बैठकमा प्रधानमन्त्री ओलीले पारदर्शी हुन निर्देशन दिएका हुन्।
ओलीले मन्त्रीहरुलाई उनीहरुको निगरानीमासमेत मान्छेहरु परिचालन गरेको भन्दै सचेत गराए। उनले भने, ‘तपाईको पछाडि पनि मान्छे लगाएको छु, तलमाथि भए कारबाही हुन्छ।’
प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सचिव र सचिवलाई मातहतका कर्मचारीसँग समन्वय गरेर काम गर्न पनि निर्देश गरका छन्।
उनले सचिव र कर्मचारीले काममा ध्यान नदिए आफू मात्रै चटपटाएर काम नहुने भन्दै गम्भीर हुन आग्रह गरे।
प्रधानमन्त्री ओलीले मुलुकमा उद्योग तथा उत्पादनमूलक क्षेत्रको विकास हुनपर्नेमा जोड दिएका छन्। उनले सम्बद्ध विभागहरुसँग समन्वय गरेर काम अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिए।
साथै चार महिनाभित्र काठमाडौं उपत्यकाका खाल्डाखुल्डी पुर्न र सफा बनाउने निर्देशन दिए।
ओलीले आगामी चौमासिकभित्र ५० प्रतिशत पुँजीगत खर्च हुनेगरी विकासका काम गर्न निर्देशन दिए।
ओलीले हिजो मन्त्रीपरिषद्को पुनर्गठन गरेका थिए। मन्त्रीहरुले आज मात्रै गोपनीयताको सपथ तथा पदभार ग्रहण गरेका थिए।
मन्त्रीहरुलाई कार्यसम्पादनको आधारमा मूल्यांकन गरिने र जनतालेसमेत मुल्यांकन गरिरहने प्रधानमन्त्री ओलीले स्मरण गराए।