आइतबार, साउन ३१, २०८३

उपेन्द्रका लागि सत्ता ‘निल्नु न ओकल्नु’

सत्तासीन समाजवादी पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव दिल्लीमा छन्। उनी दिल्लीमै छँदा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गरेका छन्।
 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

जनकपुरधाम - सत्तासीन समाजवादी पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव दिल्लीमा छन्। उनी दिल्लीमै छँदा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गरेका छन्।

सत्तासाझेदारको नाताले मन्त्रिमण्डल हेरफेर गर्नुपूर्व समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री यादवसँग छलफल गरिनुपर्दथ्यो। तर यस विषयमा प्रधानमन्त्रीले यादवसँग कुरा गरेको जानकारी बाहिर आएको छैन।

यहाँसम्म कि यादव देशबाहिर रहेकै अवस्थामा स्वयं उनको मन्त्रालय पनि खोसिएको छ। यसअघि उपप्रधान एवं स्वास्थ्यमन्त्री रहेका यादव अहिले उपप्रधान एवं कानुनमन्त्री भएका छन्।

संविधान संशोधन गर्ने सर्तमा उनी केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका थिए। सरकारमा सहभागी हुने निर्णय गरेसँगै मधेसमा यादवको चर्को आलोचना भयो।
उनी हरेक मञ्चबाट संविधान संशोधन गराउन सरकारमा सामेल भएको आश्वासन बाँड्दै हिँडेका छन्। तर सरकारमा सहभागी भएयता उनले संविधान संशोधनबारे खासै भूमिका खेल्न नसकेको विश्लेषण हुन थालेको छ।

सरकारमा बसेर केही नचलेपछि यादवलाई अहिलेको सत्ता निल्नु न ओकल्नु भएको छ। यसअघि प्रधानमन्त्री ओलीले प्रदेश प्रमुख फेर्ने निर्णय गरेपछि उपेन्द्र अचभ्मित भएका थिए।

सरकारको उपप्रधानमन्त्रीको हैसियतमा रहे पनि प्रदेश प्रमुख परिवर्तन हुनेबारे उनले सुइँको समेत पाएनन्। आफ्नो पार्टीबाट एकजना पनि प्रदेश प्रमुखमा नपर्दासमेत उपेन्द्र खुलेर केही बोल्न सकेनन्।

समाजवादी पार्टीका महासचिव रामसहाय यादवले पनि मन्त्रिमण्डल हेरफेरबारे आफूहरुसँग कुनै छलफल नभएको बताए। ‘यस विषयमा पार्टीभित्र कुनै छलफल भएको छैन, थप कुरा अध्यक्षज्यू आइसकेपछि थाहा हुन्छ,’ यादवले भने।

सरकारमा बस्ने/नबस्नेबारे जिज्ञासामा यादवले भने, ‘अध्यक्षज्यू आइसकेपछि पार्टीको बैठकले के निर्णय गर्छ, त्यहीअनुसार हामी अगाडि बढ्छौं ।’

मन्त्रिमण्डल हेरफेर भएपछि समाजवादी पार्टीलाई अर्को झट्का दिएका छन्, प्रधानमन्त्री ओलीले । प्रदेश प्रमुख फेर्ने निर्णयदेखि मन्त्रिमण्डल हेरफेर हुँदासम्म पार्टीलाई जानकारी नहुनु अपमानका रुपमा हेरेका छन् समाजवादी पार्टीका कार्यकर्ताले।

यसरी पटकपटक अपमान सहेर सरकारमा बस्नुको कुनै औचित्य नरहेको समाजवादी पार्टीका कार्यकर्ताले भन्न थालेका छन्।

समाजवादी पार्टीका प्रदेश सदस्य शेषनारायण यादवले सरकारले लिने महत्त्वपूर्ण निर्णयमा सत्तासाझेदार दलसँग सरसल्लाह नगर्नु आपत्तिजनक रहेको बताए।

‘केही दिनको अन्तरालमा प्रदेश प्रमुख फेर्ने र मन्त्रिमण्डल हेरफेर दुई महत्त्वपूर्ण निर्णय भएको छ,’ नेपाल समयसँग उनले भने, ‘तर, हामीसँग छलफल गरिएको छैन। यस्तो अवस्थामा सरकारमा बस्नुको कुनै औचित्य छैन।’ समाजवादी पार्टीका अध्यक्ष यादव शुक्रबार साँझ स्वदेश फर्किँदैछन्।

प्रकाशित: Nov 21, 2019| 12:01 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।